कार्यकर्ता रिहाईको माग गर्दै विप्लव समुहद्वारा ठाउँ ठाउँमा विस्फोट



मोतीराम तिमल्सिना, काभ्रे ।

विप्लव समुहद्वारा जिल्लाको विकट गाउँपालिका बुढाखानीका विभिन्न स्थानमा विस्फोट गराएको छ । विद्यालय, स्वास्थ्य चौकी, सडक र सार्वजनिक स्थलहरुमा विस्फोट गराएको स्थानीयहरुले बताएका छन् ।

विभिन्न समयमा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै घोषणा गरिएको आन्दोलन सफल बनाउन विप्लब समुहले जिल्लाका विभिन्न स्थानमा विस्फोट गराएको हो । जिल्लाको महाभारत गाउँपालिकाको साविक बुढाखानी गाविसका विभिन्न स्थानमा सिलिण्डर वम पड्काएको स्थानीयले जानकारी दिएका छन् । वम विस्फोटका बारेमा स्थानीयले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीको टोली घटनास्थल पठाएको एसपी जयराज सापकोटाले जानकारी दिनु भयो । ‘बुढाखानी डाँडाको लेकमा पड्किएको आवाज सुनेको भन्ने स्थानीयको भनाई अनुसार प्रहरी परिचालन गरिएको छ’–एसपी सापकोटाले भन्नु भयो–‘खोजविनका लागि ब्यापक प्रहरी परिचालन गरिएको छ ।’

स्थानीयले बुढाखानीको साल्मे हेल्थपोष्ट, ठाकुरस्थान प्राविको विद्यालय नजिकै विस्फोट गराएको जानकारी दिएका छन् । त्यस्तै माटे र सिपाली जाने बाटो र ब्रम्हटारमा पनि पड्किएको आवाज आएको सुनेको स्थानीयले बताए । स्थानीयले बम पड्किएको आवाज सुने लगत्तै घटनास्थलमा पुग्दा सिलिण्डरमा रेशम तार जोडेर डडेको अवस्थामा फेला पारेका थिए भने जंगलमा विप्लब समुहका कार्यकर्ताहरु बसेर आगो बालेको फेला पारेका थिए ।

यस अघि विप्लब समुहका कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा चन्दा आतंक मच्चाएका छन् । सहकारी, विद्यालय, होटल, यातायात क्षेत्रका साथै ब्यवसायी र जनप्रतिनिधिहरुलाई चन्दा माग्दै आतकं फैलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्