८१ कम्पनीहरूको शेयर कारोबार रोक्का



नेपाल समाचारपत्र, काठमाडौं।आइतबारदेखि ८१ कम्पनीहरूको शेयर कारोबार स्थगित हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाएका ८१ वटा कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।

कम्पनीले धितोपत्र विनियमावली २०७५ को विनियम १६ ९१ (क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरूको कारोबार कार्तिक ३ गतेबाट लागू हुने गरी स्थगित गरिएको नेप्सेले जानकारी दिएको छ।

नेप्सेको कारबाहीमा परेर कारोबार रोक्का भएका कम्पनीहरूमा १८ वटा विकास बैंक समेत रहेका छन्। २८ वाणिज्य बैंकहरूले भने नविकरण शुल्क बुझाएका छन्। कारबाही पर्नेमा १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी, र ११ वटा लघुवित्त कम्पनी रहेका छन्।

उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समुहका २ वटा कम्पनी कारबाहीमा परेका छन्। नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क नबुझाउने त्यस्ता कम्पनीलाई कारबाहीस्वरुप कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीलाई असोज मसान्तसम्ममा नवीकरण शुल्क बुझाउने समयावधि तोकिएको थियो। उहाँले भन्नुभयो, ‘सो समयसीमामा शुल्क नबुझाएका कम्पनीलाई कारबाही गरिएको हो। कारोबार बन्द भइसकेका केही कम्पनी पनि सो सूचीमा छन्।’

उनीहरूले तिर्न बाँकी नवीकरण शुल्क बुझाएपछि मात्रै कारोबार खुला गरिने उहाँले जानकारी दिनुभयो। नेप्सेमा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष सम्पन्न भएको तीन महिनाभित्र नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ।

दोस्रो बजारमा कारोबार गर्नका लागि शेयर खरिद तथा विक्री गर्न सदस्यता प्राप्त गरेका ५० धितोपत्र दलाल व्यवसायीहरूले भने सदस्यता नविकरण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्