ढकाल सैनिक खेलकुदमा निर्णायक हुने



काठमाडौं, (नेस)।तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल चीनको उहानमा जारी सातौं विश्व सैनिक खेलकुद प्रतियोगितामा (सीआईएसएम) निर्णायकको भूमिका निर्वाह गर्न चीन पुग्नुभएको छ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्ले प्रत्येक ४ वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाका खेलाडीले पहिलो पटक भाग लिएका छन्। कार्तिक १० गतेसम्म हुने प्रतियोगितामा ढकाल सबैभन्दा कम उमेरका अन्तर्राष्ट्रिय निर्णायक हुनुहन्छ।

उहाँले यस अघि तेक्वान्दोका विभिन्न खेलमा मुख्य निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ। ढकालले नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदमा (साग) पनि तेक्वान्दोमा निर्णायक भूमिका निर्वाह गर्दै हुनुहुन्छ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रूपमा रहने यो प्रतियोगितामा विश्वका १ सय ५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहने छ।

प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ। उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३ सय २८ वटा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिनेछ।

खेलकुदको माध्यमबाट मित्रता भन्ने नारालाई आत्मसात गरेको अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद् सन् १९४८ फेब्रुअरी १८ मा स्थापना भएको हो।

नेपालसहित विश्वका १ सय ४० देशका सेनाका संगठन सदस्य रहेको उक्त परिषद्मा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एसिया महादेशका ३२ मुलुक सदस्य छन्। परिषद्लाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छ।

परिषद्को सबैभन्दा महत्वपूर्ण संरचनाको रूपमा गभर्नर परिषद् छ भने प्रत्येक खेलको विकासका लागि प्रेसिडेन्ट परिषद्ले नेतृत्व गर्दछ।

नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन र खेलकुदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्