अति दलीयता घातक



दलीय राजनीतिक प्रणाली हामीले अपनाएको लोकतन्त्रको आधार हो । त्यसैले दलबाट चुनिने व्यक्तिको शुद्धता निकै महत्वपूर्ण हुन्छ । तर, अहिले सत्ताधारी नेकपाका कृष्णबहादुर महरा, प्रमुख प्रतिपक्षी नेकाका अफ्ताब आलम, राजपाका प्रमोद शाह र अन्य केही कानुनी कारबाहीमा छन् । यीमध्ये केहीसँग सम्बद्ध राजनीतिक दलको नेतृत्वले ‘मेरो दलको बदनाम गराउलास्, खबरदार’ भन्ने व्यहोराको भाषण दिन थालेका छन् ।

कानुनी कारबाही चलाउने अभ्यास चलिरहँदा आएको यस प्रकारको दबाबले लोकतान्त्रिक अभ्यासमा घातक असर पार्ने सम्भावना बढेको छ । खासगरी पुरानो लोकतान्त्रिक दल नेकाका तर्फबाट त्यसका सांसद आलमको पक्षमा आएको धारणाले सबैलाई चकित पारेको छ ।

पहिलो संविधानसभाको निर्वाचन २०६४ मा बुथ कब्जा गर्ने उद्देश्यका साथ बम बनाउन लाग्दा भएको बिस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा सांसद मोहमद अफ्ताब आलम पक्राउ पर्नुभएको छ । सो निर्वाचनताका रौतहटमा २० जनाभन्दा बढीको हत्या गरिएको आरोपमा आलम पक्राउ परेपछि समग्र मुलुकको ध्यान अहिले सोही काण्डतर्फ सोझिएको छ ।

रौतहटको फरहदवा गाउँ अहिलेको राजपुर नगरपालिका–२ मा साँझ ६ बजेर १५ मिनेटमा स्थानीय शेख इद्रिसको घरमा २०६४ चैत २७ मा बम विस्फोट भएको थियो ।
निर्वाचनमा जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न तयार पारिएको बम विस्फोटमा घाइते भएकालाई उपचार गर्नुको बदलामा घटनाको प्रमाण नष्ट गर्न सहभागीलाई जिउँदै इँटाभट्टामा हालिएको थियो ।

यति ठूलो अपराधलाई लुकाउँदै पटक–पटक सांसद र मन्त्री भएका आलमको राजनीतिक पहुँच फराकिलो भएपछि रौतहट घटना ओझेलमा पर्दै आएको थियो । मृतकका परिवारले आलमलाई कारबाही गर्न सुरक्षा निकाय र अदालत गुहारे पनि राजनीतिक प्रभावकै कारण उहाँमाथि कारबाही हुन सकेको थिएन ।

घटनापश्चात् १२ वर्षको अवधिमा रौतहट जिल्लामा १६ जना वरिष्ठ प्रहरी अधिकारी सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिए तर कारबाही अघि बढाउन सकेनन् ।‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ भन्ने नेपाली उक्तिलाई सम्झाउने गरी गत आइतबार नेपाली कांग्रेसका नेता आलम पक्राउ पर्नुभएको छ ।

आलम पक्राउबारे कांग्रेसका शीर्ष नेताबाट कांग्रेसमाथिको षडयन्त्र शुरू भएको र १२ वर्षअघिको मुद्दालाई ब्युँताउँदै सरकारले आफ्नो दललाई नियोजितरूपमा प्रहार गर्न थालेको टिप्पणी सार्वजनिक हुन थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो तर्क गरेपछि उहाँ विवादमा तानिनुभएको छ ।

आलम पक्राउबारेको टिप्पणी सर्वत्र आलोचना हुन थालेपछि २४ घण्टा पनि बित्न नपाउँदै देउवा स्वयंले आफ्नो भनाइ सच्याउनुभएको छ । कुनै गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने उल्लेख गर्दै देउवाले विज्ञप्तिमा भन्नुभएको छ– ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिकरूपमा प्रस्ट्याउन चाहन्छु ।’ यसलाई सबैले सकारात्मकरूपमा लिनुपर्छ र अति दलीयता मुलुक र लोकतन्त्रका लागि घातक छ भन्ने सत्य बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्