उपत्यकाको सवारी व्यवस्थापन जटिल छैन



भीमप्रसाद ढकाल
प्रहरी वरिष्ठ उपरीक्षक
प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा
चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणमा उत्कृष्ट रुपमा सवारी व्यवस्थापन गरी स्यावासी बटुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्मार्ट ट्राफिक प्रहरी अभियान अघि बढाएको छ। विदेशीको पहिलो नजर पर्ने ट्राफिक प्रहरीलाई थप स्माट बनाउन विभिन्न योजना शुरु गरेको छ। पछिल्लो समयमा राजधानीको ट्राफिक व्यवस्थापनमा चुनौती बढेपछि त्यसलाई सहजरुपमा समाधान गर्न सक्ने क्षमता बनाएको महाशाखाले पछिल्लो अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापन कस्तो हुनुपर्छ भन्ने विषयमा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानी :

उपत्यकाको ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ ?

काठमाडौै उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल छैन। दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउन महानगरीय ट्राफिक प्रहरी तत्पर छ।महानरीय ट्राफिक प्रहरी महशाखाले काठमाडौं उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने समय अनुकूल ट्राफिक व्यवस्थापन सुधार गर्दै लैजाने, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाएर काम गरिरहेका छांै।

सवारी व्यवस्थापन गर्न कति स्थानमा सीसीटिभी जडान गरिएको छ ?

प्रविधिमैत्री ट्राफिक व्यवस्थापन गर्न काठमाडौ उपत्यकाको मुख्यमुख्य चोक तथा भित्री कोर क्षेत्रलाई समेटेर हालसम्म ५ सय ३५ स्थानमा सीसीटिभी जडान गरेका छांै।

सवारी चाप र व्यस्त सडक व्यवथापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा थप अन्य स्थानमा सीसीटिभी जडान गर्ने तयारी गरेका छौं।

सीसीटिभीका कारण सवारी अपराध गर्ने कामको निगरानी भएको छ। सीसीटिभी निगरानीले गर्दा कारण मुख्य र भित्री सडकमा ट्राफिक व्यवस्थापन थप सहज बनेको छ।

उपत्यकाको सडकको अवस्था कस्तो छ ?

उपत्यकाको तीन जिल्लामा राष्ट्रिय राजमार्ग, सहायक मार्ग जिल्ला, ग्रामीण र शहरी सडक गरी करिब २ हजार १४ किलोमिटर सडक छ। जसमध्ये ६१ किलोमिटर राष्ट्रिय राजमार्ग, ४ सय ८८ किलोमिटर सहायक मार्ग, १ सय ५८ किलोमिटर विस्तारमा रहेको शहरी सडक, ३ सय ५८ किमि अन्य सडकमा हाल यातायात सञ्चालन भइरहेको छ। उपत्यकाभित्र करिब १ सय ९३ किलोमिटर चार लेन सडक छन्। २ सय ३९ किमि दुई लेन र ६ सय ६० एक लेनका सडक छन्।

सडकमा गुड्ने सवारीसाधनको संख्या कति होला ?

सवारीसाधनको सख्या दिनदिनै बढे पनि सडक बढ्न सकेको छैन। नेपालभर  ३६ लाखको हाराहारीमा सवारी दर्ता छ। वागमती अञ्चलमा मात्रै दर्ता भएको सवारी साधनमध्ये १२ लाखभन्दा सवारीसाधन सञ्चालन भइरहेका छन्। यीबाहेक अन्य अञ्चल कार्यालयमा दर्ता भएका सवारी पनि राजधानीमा गुड्छन्।

औषतमा हेर्ने हो भने उपत्यकामा सबैभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन्। दैनिक रुपमा सडकको क्षमताभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेकाले ट्राफिक व्यवस्थापन गर्न केही समस्या देखिन थालेको छ। राजधानीमा दैनिक रुपमा करिब ४५ हजार यात्रु र ८ हजार सवारी साधन भित्रिने र बाहिरिने गर्छन्।

उपत्यकाको ट्राफिक व्यवस्थापनमा कति जनशक्ति परिचालित छन् ?   

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न करिब १ हजार ८४ ट्राफिक प्रहरीको दरबन्दी आवश्यक पर्छ। अहिले १ हजार ४ सय ५९ ट्राफिक प्रहरी परिचालित छन्। यति थोरै जनशक्तिले ट्राफिक व्यवस्थापन गर्न सहज छैन।

ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेको विद्यमान अवस्थामा यथार्थपरक विश्लेषण गरी सवारी आवागमनको समुचित व्यवस्थापन एवं दुर्घटना न्यूनीकरण गरी निर्वाध रुपमा रुपमा सवारी व्यवस्थापन गर्न विद्यमान अवस्थाको यथार्थपरक बिश्लेषण गरी विशिष्टीकृत जनशक्ति एवम् आधुनिक उपकरणहरूको प्राप्ति र समुचित उपयोग गर्नु अपरिहार्य छ।

यो काम महानगरीय ट्राफिक प्रहरी महाशाखाको एकल प्रयासबाट मात्रै मात्र सम्भव हुन सक्दैन। सरोकारवाला सबै निकायको एकीकृत, समन्वयात्मक एवम् सामूहिक सहकार्यलाई अझै घनीभूत पार्नु आवश्यक छ। उपत्यकाको सवारी व्यवस्थित गर्न थप ६ सय ट्राफिक प्रहरीको आवश्यक छ। उपत्यकामा एक जना ट्राफिक प्रहरीले करिब ९ सय भन्दा बढी सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

चाडवाडको सुरक्षा अवस्था कस्तो छ ?

 

दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडवाड लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाले सहज र सुरक्षित ट्राफिक व्यवस्थापन गर्न विशेष सुरक्षा योजना अघि सारेको छ। काठमाडौंबाट बाहिरिने नागढुङ््गा, फर्पिङ, मुड्खु, जगातिलगायत नाकामा ट्राफिक प्रहरीको सक्रियता बढाइएको छ। ती क्षेत्रमा  चेक प्वाइन्ट राखिएको छ।

चौबीसै घण्टा ट्राफिक प्रहरी परिचालन गर्ने, मापसे चेकिङलगायत अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई दैनिक ४ पटक चेकजााँच गर्ने, लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए नभएको विषयमा ट्राफिक कम्युनिकेसन एप्समार्फत कडाइ गर्ने, तीव्र गतिमा सवारी चलाएको पाइएमा कारबाही गर्ने, नयाँ बसपार्कमा सवारीसाधनको यान्त्रिक परिक्षण, ३ सय ६८ ठाउँमा दैनिक १ हजार १ सय ८० जना ट्राफिक प्रहरीसहित ट्राफिक स्वयमसेवक परिचालन, यात्रुको गुनासो तत्काल सम्बोधन गर्न १४ स्थानमा नागरिक सहायत कक्ष स्थापना, टिकट काउन्टरमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइएको छ।

ट्राफिक व्यवस्थापन मात्र होइन, चाडवाडको समयमा यात्रुसँग बढी भाडा लिने, यात्रुलाई बाटोमै ओराल्ने जस्ता समस्या आउन नदिन विभिन्न योजना बनाएका छांै।

आजसम्म चाडवाडमा नियम उल्लंघन गर्ने कतिलाई कारबाही गरियो त ?

भर्खरै दशैं सकिएको छ। दशैं अवधिभरमा १४ हजार ९ सय ११ लाई कारबाही गरेका छांै। १ हजार ५ सय ४३ मापसे गर्ने, बढी भाडा लिने ३ सय ८९ ट्याक्सी, बढी भाडा लिने लामो दूरीका १० बस, बढी भाडा लिएर टिकट बेच्ने ३६ बिचौलिया, १ हजार ५ सय ९८ फुटपाथ पार्किङ, २१ जना लेन कारबाही, सिटवेल्ट तथा हेल्मेट प्रयोग नगर्ने १ सय ८६, लेजर गन प्रयोग गरी तीव्र गतिमा सवारी चलाएका ८०, ७ सय १९ ब्हील लक र चेन लक, २ सय ८९ हर्न कारबाही, ढोका खुला राख्ने ३ सय ६९ र नागढुंगामा बिग्रेका सवारीसाधनलाई र्याकरले तानेको १ सय १ रहेका छन्।

ट्राफिक लाइटको अवस्था कस्तो छ ?

ट्राफिक व्यवस्थालाई सहज गर्न ट्राफिक बत्तीले सहयोग पुर्याउन सक्छ। आजको दिनमा काठमाडौंमा न पर्याप्त ट्राफिक बत्ती छ, न त भएका बत्तीले नै राम्रोसँग काम गर्छन्। शुरुमा जापानी सहयोग नियोग जाइकाले राजधानी उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती निर्माण गरेको थियो। ती ट्रफिक बत्ती पनि बिग्रिएको अवस्थामा छन्।

यसै त आवश्यकताअनुसार काठमाडौंमा ट्राफिक प्रहरी छैनन्। ठाउँठाउँमा व्यवस्थित ट्राफिक बत्ती भए थोरै जनशक्तिले पनि काठमाडौंको ट्राफिक व्यवस्थालाई सहज पार्न सकिन्थ्यो।

ट्राफिक बत्तीको अभावमा सवारी व्यवस्थापन गर्न खटिएका ट्राफिक प्रहरी हात हल्लाउदै ट्राफिक नियन्त्रण गर्न बाध्य छन्। उपत्यकाका २० ठाउँमा ट्राफिक बत्ती जडान भएका छन्। धेरै ठाउँमा बिग्रिसकेका छन्। जडान गरिएका २० मध्ये अहिले ७ स्थानको ट्राफिक बत्ती मात्र  काम गरिरहेको छ। अब ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं सुरक्षित राख्न आधुनिक प्रविधको प्रयोग अपरिहार्य भैसककेको छ।
उपत्यकाको मुख्य चोकमा काठमाडौ दिगो शहरी यातायात आयोजना र यस महाशाखाको अध्ययनबाट पहिलो चरणमा  तत्काल ३६ स्थान, दोस्रो चरणमा ३२ र तेस्रो चरणमा ४० स्थानमा इन्टलिजेन्स ट्राफिक लाइट जडान गर्न समन्वय भइरहेको छ। सडक विभाग, महानगरपालिकालगायत अन्य सरोकारवाला निकायसँग समन्वय गरेर ट्राफिक लाइट,  पैदलयात्रीका लागि  पिडिस्ट्रेन र स्मार्ट स्ट्रिट लाइट जडान गर्न पहल गरिरहेका छौं।
साँघुरा र करिडोरलाई कसरी व्यवस्थापन गरिएको छ ?

उपत्यकाको साघँुरा र करिडोर सडक व्यवस्थापन गर्न यस महाशाखाले ३ महिने कार्ययोजना तयार गरेका छ। ललितपुरको बालकुमारी पुलको अण्डरपास, गोपीकृष्ण पुल, भत्केको पुल, चावहिल, हनुमानथान पुल, नयाँबसपार्क, गोंगबु पुल, रातो पुल, कालो पुलका कोरिडरहरू सञ्चालन गरिसकेका छौं।

अब निकट भविष्यमा बालाजु पुलदेखि कालिमाटी पुलसम्मको कोरिडर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। हालै चीनका राष्ट्रपतिको भ्रमणमा ट्राफिक व्यवस्थापन व्यवस्थित गरेपछि तपाईंले सबैतिरबाट प्रशंसा बटुल्नुभयो। साँच्चीकै सवारी व्यवस्थापन गरेर प्रशंसा पाउनुभएको हो ?

उपत्यकाबासीको अमूल्य साथ र सहयोग, हाम्रा अधिकृत जवानको कौशल, क्षमता, उत्कृष्ट टिम स्पिरिटको कारण नै चीनका महामहिम राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणमा सुरक्षित र सहज ट्राफिक व्यवस्थापन गर्न  सफल भएका छांै।

विशिष्ट पाहुनाको सवारी चलाउँदा व्यवस्थित रुपमा ट्राफिक व्यवस्थापन भएको कारण सबैतिरबाट प्रशंसा पनि भएको छ। यसबाट आगामी दिनमा थप ऊर्जाका साथ काम गर्ने प्रेरणा मिलेको छ। विशिष्ट पाहुनाको सवारी व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा भोलिका दिनको लागि थप अनुभव र टिप्सहरू पनि मिलेको छ।

त्यस बेला कसरी सवारी व्यवस्थापन गर्नुभयो ?

 

चीनका राष्ट्रपति सीको दुईदिने नेपाल भ्रमणका क्रममा सवारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा धेरै चुनौती थियो। विश्वकै शक्तिशाली नेता भएकाले सीको राजकीय सवारी पनि ठूलो हुने नै भयो। सवारी तथा ट्राफिक व्यवस्थापनको जिम्मेवारी हाम्रो भागमा पर्यो।

यसलाई हामीले चुनौती र अवसरका रुपमा लिएर सफलतापूर्वक सम्पन्न गर्यौं। यो भ्रमण चिनियाँ भीभीआईभीको २३ वर्ष थियो। त्यो चुनौतीलाई धेरै दिन अघिदेखि सबै सुरक्षा निकायले चासो दिएका थिए।

संसारको शक्तिशाली व्यक्तिको भ्रमण कसरी सम्पन्न गर्ने  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको विषयमा आ–आफ्नो ठाउँबाट विशेष तयारी गरिरहेका थिए। त्यसमा पनि ट्राफिकले हेर्ने सवारी व्यवस्थापन र सुरक्षा सबैभन्दा बढी महत्वपूर्ण विषय हो।

किनभने सवारी व्यवस्थापन महानगरीय ट्रफिक प्रहरीसंग जोडियो। एकातिर  विगतका  सवारीका क्रममा जाम हुँदा नागरिकस्तरबाट आलोचना भइरहेको थियो। अर्को उपत्यकामा सवारीसाधनको संख्या अधिक छ

। त्यस्तै शक्तिशाली विशिष्ट पाहुना आएपछि औपचारिक सवारी धेरै संख्यामा चलाउनुपर्ने हुन्छ। यसमा पूरै सडक क्लियर गर्नुपर्ने हुन्छ। औपचारिक सवारी धेरै चलाउनुपर्ने थियो। सावारी हुनु तीन दिन अघिदेखि सक्छ महाशाखाले ७ बुँदे अनुरोधपत्र जारी गर्यौं।

जुनआम उपत्यकाबासीको हितमा पनि थियो। त्यसलाई सहज रुपमा लिएर पालना गरेर सहयोग सहयोग गरिदिनुभयो। दोस्रो विगतभन्दा अलि फरक ढंगले सवारी व्यवस्थापन गर्यौं। मुख्य सवारी मार्गको मात्रै सुरक्षा नभएर आम सर्वसाधारणलाई हिँड्ने भित्री सडकलाई पनि खाली गरिदियौं जथाभावी पार्किङ हटाइदियौ।

अर्को जहाँ मुख्य सवारी आउने बाटोसँग जोडिएको भित्री बाटोको चोकबाट डाइभर्सन गरिदियौं। सवारी मार्ग खाली गार्दा यात्रुलाई अत्यावश्यक सवारी साधन एम्बुलेन्स, दमकल, बिरामी बोकेका ट्याक्सीलगायतलाई कुनै रोकावट गरिएन।

सर्वसाधारण धेरै समय रोकि राखेको छन् भने तत्काल छाडिहाल्ने र बाटो काट्ने व्यवस्था मिलायौं।  महानगरपालिका, सडक विभाग, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्यांै। दशंैमा महाशाखाका कुनै पनि कर्मचारीलाई बिदा छाडेनौ। विशिष्ट पाहुनाकै भ्रमणको तयारीमा लागिरह्यांै।

त्यसका अतिरिरक्त जवान, अफिसरहरूले चनाखो भएर राम्रो ड्युटी गरे। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सवारी व्यवस्थापनमा सोचेभन्दा राम्रो भएको मैले महसुस गरेको छु। योजनाबमोजिम सफलता पायौ। महाशाखाको कुनै पनि कमी कमजोरी हुन पाएन। यो सबै कामको लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालयले बारम्बार निर्देशन र उत्साह दिइरहने काम भएको थियो।

त्यस बेला दैनिक कति भीआईपी सवारी चलाउनुपरेको थियो ?

विगतमा तीनवटासम्म औपचारिक सवारी हुने गरेको थियो। तर त्यस समयमा  एकै दिनमा १५ वटा सवारी चलाउनुपरेको थियो। दुई दिनमा थप ३० वटासम्म सम्म औपचारिक सवारी चलाउने परेको थियो। लगभग एकै समयमा विभिन्न सडकबाट चार–चारवटा औपचारिक सवारी चलाएका थियौं।

छिनछिनमा समय हिसाब गरेर गर्नुपर्ने अवस्था थियो किनभने सवारी चलाउदा आउँदा आउँदै झ्याप्पै गाडी आयो भने खतराको अवस्था आउने थियो। धन्न यति धेरै विशिष्ट व्यक्तिको सवारी चलाउँदा कुनै समस्या आएन।

आउन सक्ने समस्याबारे अगाडी नै अध्ययन र तत्काल विश्लेषण गरेर समाधान गरियो। सबैभन्दा ठूलो कुरा उपत्यकाको सवारी सहज भएको थियो कुनै पति यात्रु र सर्वसाधारणले कुनै किसिमको दुःख बेहोर्नु परेन। यतिसम्म कि सोल्टीबाट विमानस्थलसम्म भीभीआईपीको सवारी हुँदा चिनियाँ सुरक्षाकर्मीले नेपालको ट्राफिक व्यवस्थापनलाई खुबै मन पराएर भिडियो समेत लिएका थिए।

दशैंमा सवारीसाधन कम भएर चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको हो भनिन्छ नि ?

त्यस्तो त होइन। तथ्यांक हेर्नुस् न। दशैंको टीका सकिएलगत्तै उपत्यकामा दैनिक १ लाख ५० हजार यात्रु र ३० हजारको संख्यामा ठूला साना सवारी भित्रिएका छन्। अन्य समयमा दैनिक करिब ४५ हजार यात्रु र ८ हजार मात्रै  सवारी साधन भित्रिने गर्छन्। त्यसकारण त्यस बेला पनि साविकको दिनमा जस्तै सवारीसाधनको चाप बढेको थियो।

उपत्यकाका भित्री क्षेत्रको सवारी व्यवस्थापन कसरी भइरहेको छ ?

 

यी स्थान भनेका उपत्यकाका मुख्य व्यस्त रहने रहने व्यापारीक स्थानहरू हुन। पहिलेदेखि नै मानिसको घुइँचो यस क्षेत्रमा हुने गरेको छ।

ती क्षेत्रमा साँघुरा  सडक भएकोले पैदलयात्री र सवारीसाधनको चाप बढ्न गई ट्राफिक व्यवस्थापनसमेत प्रभावित हुने भएकोले त्यस्ता स्थानमा ट्राफिक प्रहरीको उपस्थिति बढाई आवश्यक परेको डाइभर्सनको व्यवस्था मिलाइएको छ।


नागढुंगाको जाम हटाउन कस्तो योजना बनाउनुभएको छ ?

पहिलो कुरा उकालो बाटो, घुमाउरो मोड, ओभरलोडका सवारीसाधन र ओभरट्याकका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड केही समय क्युमा हुँदा यात्रुलाई हैरान भइरहेको छ। अहिले यो सडक ठाउँठाउँमा जीर्ण बन्दै गएको छ।

सडक विभागसँग समन्वय गरी सडक निर्माण कार्यलाई तीव्रता दिएका छौं। त्यस्तै यस महाशाखाले ठूला मालबाहक सवारीसाधन बिग्रेर घण्टांैसम्म ट्राफिक क्युलाई हटाउन र्याकरको व्यवस्था गरेका छौ। मोटरसाइकलसहितका मोबाइल टोली क्विक रेस्पोन्स टिम (क्युआरटी)  परिचालन गरिएको छ। थप जनशक्ति परिचालन गरेका छांै।

उक्त सडकखण्डमा ओभरटेक नगरी क्यु सिस्टममा सवारी चलाउनका लागि २४ सै घण्टा ट्राफिक प्रहरी परिचालन गरी निगरानी बढाएका छौं। ठाउँठाउँमा ‘ओभरटेक नगर्नका लागि अनुरोध’ लेखिएको बोर्ड राखिएको छ।

अबको योजना के छ ?

 

महानगरीय ट्राफिक प्रहरी महाशाखा हाजिर भएदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त बनाउन विभिन्न योजना निर्माण गरिरहेको छु। सबै प्रहरी अधिकृतको सहयोगमा योजना निर्माण गरेर कार्यान्वयनसमेत गरिसकेका छौं। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयसमेतबाट भएका नीति, निर्देशन र विद्यमान ऐन कानुनको परिधिभित्र रहेर आम नागरिकको चाहना बुझेर हामी अघि बढेका छौं।

हाम्रो प्रमुख प्राथमिकता ‘स्मार्ट ट्राफिक प्रहरी’ बनाउने, समस्यालाई पहिचान गर्ने र प्राथमिकतामा राख्ने, प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिने, व्यवहारमा विनम्रता र कानुन कार्यान्व्यनमा कडाइ गर्ने, सरोकारवाला निकायसँग उपलब्धिमूलक सहकार्य गर्ने, ट्राफिक अनुशिक्षण र जनचेतनाको विशिष्टीकरण गर्दै लैजाने, ‘ट्राफिक नियमको पालना, आम नागरिकको चाहना’ भन्ने नारालाई विभिन्न नागरिकमैत्री अभियान सञ्चालन गर्दै जाने भन्ने हो। सबैसँग सहकार्य गरेर अघि बढेको कारण हालसम्म कुनै समस्या देखिएको छैन। समस्या आए सबैसँग सल्लाह सुझाव लिएर समाधान गर्नेछौं।

स्मार्ट ट्राफिक प्रहरी बनाउन के गर्नुपर्ला ?

मेरो पहिलो प्राथमिकता उपत्यकाका सबै युनिटमा कार्यरत सबै कार्यालय र ट्राफिक प्रहरीलाई स्मार्ट पुलिस बनाउने हो। उपत्यकाबासी र विदेशीले झट्ट हेर्ने व्यक्ति भनेकै ट्राफिक प्रहरी नै हो। ट्राफिकलाई हेरेर विदेशीले नेपाल यस्तो रहेछ भन्ने धारणा बनाउने गर्छन्।

त्यसकारण सबैको अगाडि ट्राफिक प्रहरी अनिवार्य रुपमा स्मार्ट हुनुपर्छ। विगतको भन्दा अहिलेको ट्राफिक प्रहरी धेरै राम्रो, व्यावहारिक र स्मार्ट भइसकेका छन्। तर व्यक्तित्व, आचरण, व्यवहार, ज्ञान, सीप र क्षमताले भरिपूर्ण बनाउँदै ट्राफिक प्रहरीलाई अझै राम्रो र स्मार्ट बनाएर लैजाने मेरो योजना छ। ट्राफिक प्रहरीको विद्यमान ज्ञान, सीप र कार्यदक्षतालाई थप अभिवृद्धि गर्ने, आवश्यकताअनुसार ट्राफिक व्यवस्थापन, प्रविधिको प्रयोग, तनाव व्यवस्थापन, प्राथमिक उपचारजस्ता विषयमा तालिम दिइनेछ।

  • उपत्यकाको तीन जिल्लामा राष्ट्रिय  राजमार्ग, सहायक मार्ग जिल्ला, ग्रामिण र शहरी सडक गरी करिब २ हजार १४ किलोमिटर सडक छ।
  • औषतमा दैनिक रुपमा करिब ४५ हजार यात्रु र ८ हजार सवारी साधन भित्रिने र बाहिरिने गर्छन्।
  • ट्राफिक बत्तीको अभावमा सवारी व्यवस्थापन गर्न खटिएका ट्राफिक प्रहरी हात हल्लाउँदै ट्राफिक नियन्त्रण गर्न बाध्य छन्।
  • सोल्टीबाट विमानस्थलसम्म भीभीआईपीको सवारी हुँदा चिनियाँ सुरक्षाकर्मीले नेपालको
  • ट्राफिक व्यवस्थापनलाई खुबै मन पराएर भिडियोसमेत लिएका थिए।
  • उपत्यकावासी र विदेशीले झट्ट हेर्ने व्यक्ति भनेकै ट्राफिक प्रहरी नै हो।
प्रतिक्रिया दिनुहोस्