बालअधिकार राजनीतिक मुद्धा बन्नु पर्दछ



झबिन्द्र ज्ञवाली

प्रमुख, सिविन बाल हेल्पलाइन, हेटौंडा

बालबालिकाको आपत्कालिन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाका निम्ति सिविन नेपालले बाल हेल्पलाइन नेपाल १०९८ सञ्चालन गरेको छ। सन् १९९८ मा सिविन नेपालले आफ्नो एकल पहलमा बालबालिकाको आपत्कालिन उद्धार, राहत तथा परामर्श सेवा दिने उद्धेश्यले सिविन हेल्पलाइन सञ्चालनमा ल्याएको थियो। बाल हेल्पलाइन नेपाल १०९८ को पहलमा २० वर्षमा बालश्रमशोषण, यौन शोषण, बेचबिखन, बालविवाह, हेला, परित्यक्त र विभेद लगायत जोखिममा परेका लाखौं बालबालिकाको उद्धार, संरक्षण, मनोविमर्श र सामाजिक पुनस्र्थापना भएको छ। बालबालिका सम्बन्धि राष्ट्रिय नीति, २०६९ ले बाल हेल्पलाइनलाई बालसंरक्षणको एक महत्वपूर्ण संयन्त्रको रुपमा अंगीकार गरेको छ। उक्त नीतिले बाल हेल्पलाइनलाई बाल संरक्षणको निम्ति सहयोग गरिहेको सन्दर्भमा हेल्पलाइन हेटौंडा प्रमुख झबिन्द्र ज्ञवालीसँग मकवानपुर सम्वाददाता रोशन पराजुलीले गरेको कुराकानीको संक्षेपः
नेपालको संविधान, २०७२ मा बालबालिकाका विषयहरू केके छन् ?

प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ। प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ।

प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बाल सहभागिताको हक हुनेछ। कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइनेछैन। कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन।

कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा साँस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइनेछैन भनिएको छ।

यसैगरी कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अबस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन। प्रत्येक बालबालिकालाई बालअनुकूल न्यायको हक हुनेछ।

असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, बिस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुबिधा पाउने हक पनि हुनेछ। यी विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्ता कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।

पछिल्लो समय बालश्रमको कुरा उठेको छ। कस्तो अवस्थामा बालश्रम हुन्छ ?

बालबालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बालश्रम हो। नेपालमा कानुनले बालबालिकाको उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरू तोकेको छ। बालश्रम एक परम्परागत् बालबालिकाका लागि हानिकारक सँस्कार हो।

कानुनी प्रावधानअनुसार १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउनु दण्डनीय हो। ४ देखि १६ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ। तर, कानुनले जोखिमपूर्ण भनी पारिभाषित गरेका काम गर्नका लागि १६ वर्ष र १८ वर्ष उमेर पूरा गरेको हुनुपर्दछ।

यसले बालबालिकाको सामाजिक, मानसिक, वौद्धिक विकासमा अवरोध पुर्याउँदछ। वास्तवमा बालश्रम अवोध बालबालिकाको बालापनप्रति चरण शोषण हो, जसका कारण बालबालिकाको भविष्य अन्धकारमा धकेलिरहेको हुन्छ।

रोजगारदाताका लागि बालश्रम निकै लोकप्रिय हुन्छ किनकि, बालश्रम लगाउँदा धेरै तलब दिनु नपर्ने, काम निरन्तर भइरहने, कामदारहरू पनि एकजुट भएर संघर्ष नगर्ने जस्ता कारण व्यबसायमा सफलता हासिल गरिरहेको हुन्छ।

व्यबसायीलाई बालबालिकाको भविष्यसँग कुनै मतलब हँदैन, केवल आफ्नो व्यबसायसँग मात्र सम्बन्ध रहन्छ। नेपालमा बालश्रम विशेषगरी होटल, गाडीमा खलासी, घरेलु कामदार, गिटी फोर्ने, इँटाभट्टा, कलकारखाना, गलैंचा कारखाना, पसल आदिमा बढी मात्रमा देखिन्छ।

त्यसको अतिरि क्त बालिकालाई यौनव्यबसायमा समेत संलग्न गरेको देखिन्छ।जसले गर्दा बालबालिका अत्यन्त जोखिमपूर्ण अबस्थाबाट बाँच्न बाध्य छन। नेपालमा झण्डै १६ लाख बालश्रम रहेको र जसमध्ये तत्काल उद्धार गर्नुपर्ने जोखिमपूर्ण अबस्थामा रहेको बालश्रम ८ लाख छ।

नेपालमा बालविवाहले परिवार र समाजमा कस्तो प्रभाव पारेको देख्नुभएको छ ?

२० वर्ष उमेर नपुगेका बालक वा बालिकाको विवाह भए त्यसलाई बालविवाह भनिन्छ। २० वर्ष उमेर नपुगेका बालक र बालिका आफैंले राजीखुसी अथवा आमाबुबा वा अभिभावकको स्वीकृतिमा विवाह गरे भने पनि त्यस्तो विवाहलाई बालविवाह भनिन्छ।

हिन्दु धार्मिक ग्रन्थमा पनि कन्यादान अर्थात् छोरीको सानै उमेरमा विवाह गरिदिए पुण्य मिल्छ भन्ने धार्मिक विश्वासका कारण पनि नेपाली समाजमा यसको प्रचलन कायम छ। अहिले नेपालमै बालबालिकाहरूका धेरै समस्यामध्ये बालविवाह एक हो जसका कारण सानै उमेरमा विवाह गर्नाले बालबालिकाको शारीरिक, मानसिक, वौद्धिक विकासमा असर पर्नुका साथै स्वास्थ्यमा असर पर्छ ।

सानै उमेरमा विवाहले गर्भधारण गर्ने भएकोले आमा तथा बच्चाको समेत ज्यान गएका प्रशस्त उदाहरण छन्। पछिल्लो समय विवाहको स्वरुपमा परिवर्तन आएको पाइन्छ। पहिले अभिभावकले जबर्जस्ती विवाह गरिदिने चलन थियो भने हाल आएर स्वयम् बालबालिका आफंै उमेर २० नपुगी विवाह गर्ने चलन बढेको छ।

यसका कारण बालबालिकाको समग्र विकासमा असर परेको छ। पहिला अभिभावकले र अहिले स्वयम् बालबालिकाले विवाह गर्ने चलन भए पनि त्यो जसरी गरे पनि बालविवाह र अन्त्यमा त्यसको असर एवम् प्रभाव भोग्नुपर्ने बालबालिका भएकोले यसलाई जसरी भए पनि रोक्नु जरुरी छ।

सानो उमेरमा लेखपढ गर्नुपर्ने, बालापनको रमाइलो वातावरणमा हुर्कनुपर्नेमा बुहारीको भूमिका निर्वाह गर्नुपर्ने, शिक्षा एवम् सिप जस्ता महत्वपूर्ण विषयहरू त्याग गरी घरायसी जीवनयापन गर्नुपर्ने जस्ता अवस्था सृजना हुने हुँदा बालविवाह कानुनी अपराध, सामाजिक कंलकको रुपमा लिन सकिन्छ।

नेपालमा करिब ४० प्रतिशत् बालविवाह हुने तथ्यले देखाएको छ। नेपाल सरकारले सन् २०३० सम्म र ३ नम्बर प्रदेश सरकारले २०७८ सम्ममा बालविवाहमुक्त गराउने घोषणा गरेको छ भने ३ नम्वर प्रदेशले लिएको लक्ष्य भने निकै महत्वकांक्षी देखिन्छ।

बालविवाहका नकारात्मक असरहरू केके छन् ?
सानै उमेरमा आफ्नो आमाबुबाको माया, ममता तथा मार्गदर्शनबाट वञ्चित हुनु, बालबालिकाको शिक्षा  तथा व्यक्तिगत विकासका साथै सामाजिक र मनोवैज्ञानिक विकासमा गम्भीर आघात पुर्याउनु, कलिलो उमेरमा हुने विवाहले बालबालिकाको आफ्नो शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासमा नकरात्मक प्रभाव पर्नु, सानै उमेरमा बुहार्तनको पीडालाइ निम्त्याउनु, जिम्मेवारी बढ्नु र विभिन्न किसिमका सामाजिक दबाब सामना गर्नपर्ने हुन नै यसका असर हुन्।

शारीरिक तथा मानसिक हिंसा, बेवास्ता र दुव्र्यवहारबाट सुरक्षित हुन पाउने अधिकारबाट बञ्चित हुनु, यसले छिटो गर्भवती हुने सम्भावना बढाउँछ र आमाको प्रजनन् स्वास्थ्यमा नकारात्मक असर पार्छ। आफ्नै लोग्नेबाट वैवाहिक बलात्कारजस्तो यौन हिंसाको शिकार बन्नपर्छ।बच्चैमा गरेको विवाह चित्त नबुझेको कारणले वहुविवाह हुने गर्दछ।

आफंै बालबालिका भएकोले अभिभावकत्व राम्रोसँग निर्वाह गर्न सक्दैनन्। सानैदेखि मानसिक दबाबमा बस्नुपर्ने, डरैडरमा जिन्दगी बिताउनुपर्ने हुँदा आत्मबल कमजोर हुन्छ। मनमा लागेका कुरा व्यक्त गर्न नसक्ने हुन्छन्।

परिवार नियोजनका साधनका विषयमा लोग्नेसँग छलफल गर्न नसकेका कारण १८ वर्ष उमेर नपुगेका विवाहित किशोरीहरू सानै उमेरमा धेरै सन्तान जन्माउन बाध्य हुन्छन्। तसर्थ, उनीहरू आङ खस्ने रोगका निमित्त पनि बढी जोखिममा हुन्छन्।

बालविवाह बाल मृत्युदर बढी हुनुको एउटा प्रमुख कारण पनि हो। जनसंख्या तथा स्वास्थ्य सर्बेक्षण (२००६) अनुसार २० वर्ष उमेर पुगेकी आमाले जन्माएको बच्चा भन्दा २० वर्ष उमेर नपुगेकी आमाले जन्माएको बच्चा जन्मिनासाथ र ५ वर्ष नपुग्दै मर्ने सम्भावना करिब दोब्बरले बढी हुन्छ।

हामीकहाँ कसरी बालदुव्र्यबहार एवम् हिंसा भइरहेको देखिन्छ ?

 

बालबालिकामाथि गरिने सबै व्यबहारहरू असल नियतको हुनुपर्छ। हाम्रो समाजमा बालबालिकाहरूलाई प्रयोग गरी दुव्र्यबहार गर्ने, उनीहरू माथि शोषण गर्ने, विद्यालयलगायत उनीहरू रहने स्थानमा नराम्रोसँग पिट्ने, इच्छाविपरीत कार्य गर्न बाध्य पार्ने, यौनजन्य हिंसा गर्ने, उनीहरूलाई शरीरका अतिसंवेदनशील अंग छुन लगाउने, अनावश्यकरुपमा सजाय दिने जस्ता कार्यहरू बालदुव्र्यबहार एवम् हिंसा हुन्। विगतका तथ्यांक केलाएर हेर्दा यस्तो प्रकारको हिंसा आफ्नै साथी, आफन्त अर्थात् चिनिरहेकै ब्यक्तिबाट हुने गरेको देखिन्छ।
हाम्रो समाजमा बालबालिकालाई विभिन्न जोखिमपूर्ण बालश्रममा प्रयोग गर्ने र कार्यस्थलमा नै यौन दुव्र्यबहार गर्ने, यातना दिने, लामो समयसम्म काम लगाउने तर श्रमअनुसारको पारिश्रमिक नदिने, लागुपदार्थ प्रयोग गर्न र ओसारपसार गर्न प्रयोगसमेतका प्रशस्त उदाहरण बाल हेल्पलाइन १०९८ मा आउने गर्दछन्।बालबालिकाहरूले ठूलो मानिससँग आफ्ना कुरा सजिलै राख्न नसक्ने, परिबन्दमा पार्ने, अभिभावकलाई लोभलालचमा पार्ने जस्ता कारण पनि दुव्र्यबहार बढिरहेको छ।

सिविनको अध्ययनबाट साइवर अनलाइनमा बालबालिकाहरूको अबस्था कस्तो पाइएको छ ?

साइवर अनलाइनमा बालबालिकाहरूको प्रयोग अत्यधिकरुपमा भइरहेको सन्दर्भमा सिविन नेपाल काठमाडौंले केही वर्षअगाडि गरेको अनुुुसन्धानमा विषयमा १० वटा मुख्य शहर  काठमाडौं, भरतपुर, पोखरा, बुटबल, हेटौंडा, बीरगञ्ज, धरान, बिराटनगर, नेपालगञ्ज, ललितपुर र भक्तपुरलगायत शहरलाई समेटिएको थियो।

नेपालमा यस विषयमा अनुुुसन्धान निकै कम मात्रामा भएको पाइन्छ। किनकि, यसलाई समाजले समस्याका रुपमा लिन सकेको छैन, जबकि यसले शहरमा भने विकराल रुप लिइसकेको छ।१ हजार ४ सय ३० जनालाई यस विषयमा प्रश्न सोधिएको थियो।

तीमध्ये ८२ प्रतिशत्ले इन्टरनेट प्रयोग गर्ने गरेको पाइयो भने ९४.७ प्रतिशत् निजी विद्यालयमा अध्ययनरत् र ५८.३ प्रतिशत्ले सरकारी विद्यालयमा अध्ययन गरेका थिए।जसमध्ये इन्टरनेट प्रयोग गर्ने ७४ प्रतिशत् बालक र ९१ प्रतिशत् बालिका थिए।

इन्टरनेट प्रयोग गर्ने ६३ प्रतिशत्ले साइवरमा र ५१ प्रतिशत्ले घरै बसी साइवर प्रयोग गर्दछन्। इन्टरनेट प्रयोग गर्ने २६.३ प्रतिशत् बालक र ७३.७ प्रतिशत् बालिकाले आफ्नो सम्पूर्ण विवरण अपरिचित ब्यक्तिलाई दिएको पाइयो।

इन्टरनेट प्रयोग गर्ने ९९ प्रतिशत् बालबालिक यौनजन्य सामग्रीहरू हेर्दछन्। निष्कर्षमा अत्यधिक बालबालिका तथा किशोरकिशोरीले यौनजन्य सामग्रीहरू इन्टरनेटबाट हेर्ने गर्दछन् जसका कारण बालबालिकाहरू भोलि कुलतमा लाग्ने सम्भावना बढी हुन्छ।

बालबालिका अपहरणको अबस्था कस्तो देखिएको छ ?

वास्तबमा बालबालिका प्रयोग गरी आर्थिक लिनदेनको सवालमा अपहरणका घटनाहरू थुप्रै घटिरहेका छन्। बालबालिकाहरू अवोध तथा निर्दोष हुँदाहुँदै पनि दुवै पक्षबीचको विवादको शिकार भइरहेका छन्।

वार्गेनिङ गर्न सजिलो हुने, आफूले मागे जति नदिए मार्नेसम्मका घटनाले गर्दा बालबालिकाहरू असुरक्षित रहेको महसुस हुन्छ। पछिल्लो समयमा आमाबुबाको झगडाले बालबालिकाहरू निकै पीडामा परेका छन् भने सम्बन्धविच्छेद भइसकेका आमा वा बुबासँँग बस्ने निर्णय अदालतले गरेपछि पनि अपहरणकै शैलीमा बालबालिकालाई कहिले कता त कहिले कता गरिरहँदा बालमनोविज्ञानमा नकारात्मक असर पर्छ।

सानै उमेरमा विवाह गर्ने, बहुविवाह गर्ने समस्याका कारण यस्तो समस्या आएको हो। कानुनतः बालविवाह र बहुविवाह गैरकानुनी कार्य हो। तर, पनि व्यबहारिकरुपमा भने यो समस्या अझै पनि छ।

मुख्य चुनौतिहरू केके देख्नुभएको छ ?

बालअधिकार सम्बन्धि संचेतनाको कमी, बाल संरक्षण राजनीतिक मुद्धा नबन्नु, बाल हेल्पलाइन सञ्चालनकालागि राज्यको लगानीको कमी, बाल हेल्पलाइन सेवा सबै प्रदेश तथा जिल्लामा विस्तारित नहुनु र सबैको पहुँचमा नहुनु, प्रशासनिक र सामाजिक कारण बालश्रम शोषण तथा बालअधिकारविरुद्धका घटनाहरू नियन्त्रणमा कठिनाइ देखिनु र बालबालिकासँग सम्बन्धित विभिन्न जटिल विषयहरूमा कानुनको अपर्याप्तता तथा कार्यान्वयनको समस्या पनि छ।

अपराधीलाई कारबाही गर्ने निकायको संवेदनशीलतामा कमी हुनुका कारण बालबालिकाको हितमा निर्णय हुन नसक्नु, अदालती कारबाहीमा ढिलाइ हुँदा मुद्धामा संलग्न बालबालिका तथा बालबालिकाका संरक्षकहरू प्रभावित हुने तथा अदालतमा मुद्धा चलिरहेका पीडित बालबालिकाको संरक्षण, विकास तथा सामाजिक पुनस्र्थापनामा समस्या छ।

प्रतिक्रिया दिनुहोस्