नेपाल–भारत सम्बन्ध कहाँ बिग्रिएको छ ?



अरविन्द महतो
अध्यक्ष

स्वतन्त्र युवा प्रजातन्त्रिक संघ नेपाल

स्वतन्त्र युवा प्रजातान्त्रिक संघमार्फत विभिन्न सामाजिक क्रियाकलापमा संलग्न अरविन्द महतो आफूलाई स्वतन्त्र नागरिक भएको बताउँछन्। नेपालमा गएको विनाशकारी भूकम्पपछि पीडितलाई राहत वितरण गर्न रसुवाबाहेक सबै प्रभावित जिल्लामा पुगेका महतोले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर बनाउन पुलको भूमिका खेलिरहेको चर्चा छ। भारतीय राजदूतावासका विश्वासिला पात्रका रूपमा समेत परिचित महतो गृहजिल्ला धनुषाभन्दा राजधानीमा बढी सक्रिय छन्। तोकतन्त्रप्रति आस्थावान् महतोले नेपालको सबै भू–भागको भौगोलिक र राजनीतिक अवस्था पनि नियालिरहेका छन्। निकट भविष्यमा मूलधारको राजनीति गर्ने सोचमा रहेका महतोको प्रमुख दलका प्रायः नेताहरूसँग राम्रै उठबस भएको पाइन्छ। उनै महतोसँग उहाँको संस्थाले गर्ने गतिविधि, हाम्रो देशका युवाको अवस्था, नेपाल–भारतबीचको सम्बन्ध, नेपाल सरकारको गतिविधि र विविध विषयबारे नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाईंले गरेको कुराकानीको सारसंक्षेप ः

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल कस्तो खालको संस्था हो ?

 

यो संस्था २०६७ सालदेखि नै सक्रिय छ। यो सामाजिक कार्य गर्ने गैरराजनीतिक संस्था हो। खास गरी नेपालमा गएको विनाशकारी भूकम्पपछि यो संस्थाले सक्रियताका साथ राहत कार्यमा लागेको आम जनतालाई थाहा छ। भूकमपबाट अति प्रभावित जिल्लामध्ये रसुवाबाहेक अन्य सबै जिल्लामा हाम्रो संस्थाले राहत वितरण गरेको थियो।

यसको नेटवर्क देशभरि छ। यसको अलवा हाम्रो संस्थाले विभिन्न वृद्ध आश्रममा रहेका वृद्धवृद्धालाई राहत वितरण, विभिन्न विद्यालयमा गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अनाथ तथा असहायलाई सहयोग, खेलकुद सामग्री वितरण, दलित उत्पीडितहरूको उत्थानलगायतका सामाजिक कार्य गर्दै आएको छ।

हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दु बनाएर अघि बढाए कुनै सम्बन्ध बिग्रँदैन। यहाँ राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएका कारण छिमेकीसँगको सम्बन्ध बिग्रिएको जस्तो देखिएको हो।
तपार्इं सामाजिक क्षेत्रमा कार्यरत हुनुहुन्छ। खास गरी यो क्षेत्रमा युवालाई सामाजिक दायित्व बोध सोच कसरी आयो ?
मेरो पहिल्यैदेखि समाजमा भएका विकृति विसंगतिलाई अन्त्य गर्नुपर्छ भन्ने र युवालाई सामाजिक दायित्व बोध गराउनुपर्छ भन्ने भावना थियो। त्यसैको परिणामस्वरूप यो क्षेत्रमा सक्रिय भएको हो।
नेपालका करिब ४० प्रतिशत युवा छन्। यी युवा विभिन्न कारणले विदेशमा पलायन पनि भएका छन्। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? 

यो ठूलो समस्या हो। तर, यसको समाधानका लागि राज्यको जिम्मेवार निकाय अझ भनौं सरकार गम्भीर भएको पाइँदैन। युवा विदेश पलायन भए भन्ने मात्र हैन। रोक्ने उपाय के छ भन्नेबारेमा गहन छलफल हुनुपर्छ। काम गर्नकै लागि पनि युवा विदेश जानु नराम्रो कुरा हैन।

तर, दक्ष जनशक्ति उत्पादन गरेर विदेश पठाउने नीति ल्याउनुपर्छ। वैकल्पिक व्यवस्थाबारे केही नसोची विदेश पलायन रोक्ने कुरा मात्र समाधान हैन। रोजगारीका लागि विदेश जाने युवालाई सीपमूलक तालिम दिने, उनीहरू श्रमशोषणमा नपरून् भनेर विदेश जानु पहिले नै सहज गराउने जस्ता धेरै काम गरिएको छैन।अध्ययन गर्न विदेश गएकाहरू स्वदेश फर्किएपछि उनीहरूको योग्यताअनुसारको रोजगारीको व्यवस्था सरकारले गर्न सकेको छैन। त्यसैले युवा विदेश पलायन भए भन्ने मात्र हैन यसको वैकल्पिक व्यवस्थाबारे राज्यले सोच्नुपर्छ। देशमै रोजगारका अवसर सिर्जना गरिनुपर्छ।

संसारमा सबै राष्ट्रको छिमेकीसँग सिमाना विवाद छ। यस्तो विवादलाई त्यहाँको समाज, सरकार, बुद्धिजीवी सबै पक्षले इमानदारीपूर्वक अघि बढे समस्या रहँदैन। नेपाल र 
भारतबीचको सम्बन्ध राम्रो नचाहने राजनीतिज्ञ र बुद्धिजीवीहरूले सिमाना विवादका कुरा ल्याएका हुन्।
हाम्रो देशमा राजनीतिक नेतृत्वदेखि विभिन्न क्षेत्रमा युवाको सहभागिता कस्तो पाउनुहुन्छ ?

हाम्रो देशका युवामा जोश जाँगर छ। सक्षम र भिजनवाला पनि छन्। तर, उनीहरूले उचित अवसर पाउन सकेका छैनन्। राजनीतिक दलहरूमा पनि युवालाई प्रशस्त अवसर उपलब्ध गराउनुपर्छ।

यहाँले छिमेकी मुलुक भारत र नेपालको सम्बन्ध राम्रो बनाउन भूमिका खेलिराख्नुभएको भन्ने सुनिन्छ। दुई देशबीचको सम्बन्ध कस्तो पाउनुभएको छ ?

नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। ४० लाखभन्दा बढी नेपालीले भारतमा काम गरेका छन्। भारतका ६ लाखभन्दा बढीले नेपालमा छन्। नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको छ र ? हाम्रो समाजमा राजनीतिक व्यक्तिका दोहोरो चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध बिग्रिएको छ भन्ने कुरा बाहिर आएको हो।

नेपालमा भएको आफ्नो जातीय भाषा बोल्नेको संख्या जति छ त्योभन्दा बढी संख्या भारतमा छ। तपार्इं जुनसुकै भाषाको कुरा गर्नुस् नेपालमा बोल्ने भाषा भारतमा पनि बोल्छन्। जनता–जनताबीचको सम्बन्ध त अझ राम्रो छ। बिहावारी त्यत्तिकै छ। आधाभन्दा बढी परिवार नेपाल र भारतबीच पारिवारिक र आर्थिक तथा अन्य कुनै न कुनैरूपमा सम्बन्धमा छ।

भारतसँगको सिमाना विवाद, नाकाबन्दीको समस्या जस्ता कुराहरू बेला–बेला आइरहेका छन् नि ?

 

संसारमा सबै राष्ट्रको छिमेकीसँग सिमाना विवाद छ। यस्तो विवादलाई त्यहाँको समाज, सरकार, बुद्धिजीवी सबै पक्षले इमानदारीपूर्वक अघि बढे समस्या रहँदैन। भारतसँग केही ठूलो विवाद छ जस्तो मलाई लाग्दैन। नेपाल र भारतबीचको सम्बन्ध राम्रो नचाहने राजनीतिज्ञ र बुद्धिजीवीहरूले सिमाना विवादका कुरा ल्याएका हुन्।

हेर्ने नै हो भने नेपालको भारतभन्दा बढी चीनसँग सिमाना विवाद होला। राजनीतिज्ञहरू र समाजमा स्थापित बुद्धिजीवीहरूले भारतसँगको सिमाना विवादलाई ठूलो विषय बनाइदिएका मात्र हुन्। भएका केही समस्यालाई पनि इमानदारीतापूर्वक समाधान गर्न लागे समाधान हुन्छ। भारतसँग मात्र हैन चीनसँगको सिमाना विवादलाई पनि यसै गरी टुंग्याउनुपर्छ।

राष्ट्रियतालाई माथि राख्दै छिमेकीसँगको सम्बन्ध अझ राम्रो गर्न के गर्नुपर्छ ?

 

हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दु बनाएर अघि बढाए कुनै सम्बन्ध बिग्रँदैन। यहाँ राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएका कारण छिमेकीसँगको सम्बन्ध बिग्रिएको जस्तो देखिएको हो।

तपाईं स्वतन्त्ररूपमा सामाजिक कार्यमा सक्रिय भएको बताउनुहुन्छ। भविष्यमा राजनीतिमा प्रवेश गर्ने योजना के छ ?
राजनीतिमा भएको विकृति विसंगतिलाई न्यूनीकरण गर्दै स्वच्छ राजनीतिक संस्कार निर्माण गर्ने सन्दर्भमा मेरो भूमिका अग्रणी नै रहनेछ। हामी राजनीतिक प्राणी भएकाले राजनीतिलाई नकारी हाल्न पनि मिल्दैन।म राजनीतिमा आउनु ठूलो कुरा हैन।आज सरकारले लोकतन्त्रमाथि नै प्रहार हुने गरी विभिन्न विधेयकहरू ल्याइरहेको छ। यसमा मेरो चिन्ता र चासो छ।
नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने भारतको मान्यता रहेको बुझिन्छ यस सम्बन्धमा तपाईंले के बुझ्नुभएको छ ? 
भारतको चाहना के हो के हैन मलाई थाहा छैन। यो मलाई सरोकार हुने कुरा पनि भएन। तर, नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ। हिन्दू राष्ट्र नेपालको पहिचान हो र नेपालको संस्कृति पनि हो। नेपाल हिन्दू राष्ट्र हुँदा र नहुँदा के–कति विकृति फैलिएको छ भन्ने कुरा घामजत्तिकै छर्लंग छ। आम जनताको चाहनालाई सम्बोधन गर्ने हो भने नेपाललाई हिन्दू राष्ट्र बनाउनुको विकल्प छैन। मलाई लाग्छ नेपालका ठूला राजनीतिक दलहरूले पनि यो कुरालाई मनन गरेका छन्।
नेपालको माइक्रो मेनेजमेन्टसमेत भारतले हेर्ने गरेको आरोप छ। यसलाई तपाईंले के बुझ्नुभएको छ ?
नेपाल सार्वभौसत्ता सम्पन्न मुलुक हो। यस्तो कुरामा भारतले हस्तक्षेप गर्छ जस्तो मलाई लाग्दैन। नेपालले आफ्नो आन्तरिक व्यवस्थापन आफैं गर्न सक्षम छ। माइक्रोमेनेजमेन्टसमेत भारतले गर्छ भन्ने कुरा निराधार हल्ला मात्र हो जस्तो लाग्छ मलाई।

तर, हामीले २००७ सालपछि भएको प्रायः सबै राजनीतिक परिवर्तनमा भारतको सहयोग रहेको कुरालाई भुल्नु हँुदैन। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सम्झौता भारतमै भएको तपाईंलाई पनि थाहा नि।

नेपालको संविधानको विषयमा भारतको रिजर्भेसन छ भनिन्छ खुलेर समर्थन पनि गरेको पाइँदैन। यसमा सत्यता छ ? 
यो कुरा ठीक हो। नेपालको राजनीतिमा छिमेकीको चासो रहन्छ र रहनु पनि पर्छ। भारत–चीनको राजनीतिमा नेपालको पनि चासो हुन्छ। अझ भनौं विश्व राजनीतिमा कुन देशमा के भइरहेको छ भन्ने कुरा सबै मुलुकमा चासोको विषय बन्छ। संविधान राजनीतिको मूल नीति पनि हो।
हाम्रो संविधानमा केही अन्तर्राष्ट्रिय चासोको सम्बन्ध नभएको हो कि ? अर्को कुरा नेपालकै मधेसी, आदिवासी, जनजाति तथा महिलाको सन्दर्भमा संविधानमा उचित सम्बोधन नभएको हो कि ? सायद भारतले नेपालको संविधान सबैले अपनत्व गर्ने खालको नभएकाले रिजर्भेसन राखेको होला।
अहिले सरकार चीनतिर ढल्किएको आरोप छ। भारतसँगको परनिर्भरता कम गर्न यस्तो गरिएको हो कि अन्य कारण छ ? तपाईले के बुझ्नुभएको छ ?

 

मेरो बुझाइमा नेपालले भारतलाई बाइपास गरेर अघि बढ्न सक्दैन। मैले माथि नै भनिसकें नेपालको आधाभन्दा बढी जनसंख्याको कुनै न कुनैरूपमा भारतसँग सम्बन्ध छ। नेपाल–भारतबीच आर्थिक, सामाजिक, धार्मिक मात्र हैन राजनीतिकरूपमा पनि समान सम्बन्ध छ।

मैले भारतीय नेता एवं कूटनीतिज्ञहरूसँग बुझ्दा भारत नेपालमा राजनीतिक स्थिरता र समृद्ध नेपाल हेर्न चाहन्छ। विकसित र समृद्ध नेपाल नै भारतको एक मात्र चाहना हो। खुला सिमाना, भौगोलिक विकटताका कारणले पनि नेपालले भारतसँगको सम्बन्ध बिगार्नु हुँदैन। चीनतिर ढल्केर भारतको सम्बन्ध बिगारेमा यो सरकारको ठूलो गल्ती हुनेछ। यसले आम नेपालीको हित गर्दैन।
अहिलेको सरकारको क्रियाकलापबारे तपार्इंको प्रतिक्रिया के छ ? 
एउटा स्वतन्त्र नागरिक भएर मूल्यांकन गर्दा अहिलेको सरकारको क्रियाकलापप्रति सन्तुष्टि हुने अवस्था छैन। म लोकतन्त्रप्रति विश्वास गर्ने मानिस हुँ। अहिलेको सरकारले दुई तिहाइ बहुमतको दम्भमा लोकतन्त्रको मूल्य मान्यतामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। हालै सरकारले ल्याएको मिडिया विधेयक, गुठी विधेयकलगायत अन्य जति पनि विधेयक एकपछि अर्को लोकतन्त्रविरुद्धमा आइरहेको भान भइरहेको छ।
  • राजनीतिज्ञहरूको दोहोरो चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध बिग्रिएको छ भन्ने कुरा बाहिर आएको हो।
  •  ४० लाखभन्दा बढी नेपालीले भारतमा काम गरेका छन्। भारतका ६ लाखभन्दा बढी नेपालमा छन्।
  •  नेपाल–भारतभन्दा नेपाल–चीनबीचको सिमाना विवाद बढी छ।
  •  नेपालको माइक्रोमेनेजमेन्टसमेत भारतले गर्छ भन्ने कुरा निराधार हल्ला मात्र हो।
  •  युवा विदेश पलायन भए भन्ने मात्र हैन यसको वैकल्पिक व्यवस्थाबारे राज्यले सोच्नुपर्छ।
  •  भारतको चाहना जे भए पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ।
  •  अहिलेको सरकारले दुई तिहाइ बहुमतको दम्भमा लोकतन्त्रको मूल्य मान्यतामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ।
प्रतिक्रिया दिनुहोस्