मस्जिद आक्रमणमा परी २८ को मृत्यु



जलालावाद । अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयाँै घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटनको यो ठूलो घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् । अस्पतालका एक चिकित्सकले झण्डै ३२ शव ल्याइएको र अन्य ५० भन्दा बढी घाइते भएको बताएका छन् ।

देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले एएफपीलाई बताउनुभयो ।

उहाँले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिनुभयो ।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट ९आईएस० लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्