विद्यालय सञ्चालनका लागि आर्थिक सहयोग



टंकराज अधिकारी, पोखरा ।

कास्कीको सुन्दर पर्यटकिय गाँउ घान्द्रुकमा सञ्चालित एक माध्यमिक विद्यालयलाई विदेशमा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

अन्नपूर्ण गाँउपालिका वडा नं. १० घान्द्रुकमा रहेको श्री मेश्रम बराह माध्यमिक विद्यालयले कक्षा ११ र १२ संचालन, विद्यालयको पुनः निर्माण एवं शैक्षिक तथा भौतिक गुणस्तर स्तरोन्नतिको लागि अर्थ संकलन अभियान शुरु गरेको थियो ।सो, अभियान जारी रहेको अवस्थामा बिभिन्न देशमा रहेका घान्द्रुकबासीहरुबाट संकलित नगद रु. ५५ लाख २० हजार १ सय ७३ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

शुक्रवार पोखरामा आयोजित एक कार्यक्रममा अर्थ संकलन उप–समितिका संयोजक क्याप्टेन कमल गुरुङलार्ई घान्द्रुक समाज बेलायतका अध्यक्ष अर्जुन गुरुङले २८ लाख ८० हजार ९ सय २७, घान्द्रुक समाज हङकङका प्रतिनिधि विनोद गुरुङले १४ लाख २ हजार ७ सय र घान्द्रुक समाज जापानका प्रतिनिधिहरु राजु गुरुङ, तेज गुरुङ र बिजु गुरुङले १२ लाख ३६ हजार ५ सय ४९ संकलित सहयोग रकम हस्तान्तरण गरेका छन् । कार्यक्रम सञ्चालनकै क्रममा उपस्थित पोखरामा रहेका घान्द्रुकेलीहरुले पनि ब्यक्तिगत रुपमा करीव ५ लाख रुपैया संयोजक गुरुङलाई प्रदान गरेका थिए ।

शिक्षाप्रेमि स्व. धिरबहादुर गुरुङको सकृय नेतृत्वमा दानविर लक्षुमान गुरुङले भुमिदान गर्नुभएको स्कुल २००६ सालमा श्री मेश्रम बराह मिडल स्कुलको रुपमा स्थापित बिधालय २०३५ सालमा माविमा स्तरोन्नती भएको थियो । बिधालयको स्तरोन्नतिका लागि शिक्षासेवी क्याप्टेन कमल गुरुङको संयोजकत्वमा २ बर्ष अघि २८ सदस्यीय अर्थ संकलन उप–समिति गठन गरी अभियानलाई तिब्रता दिईएको उप–समितिका सचिव कृष्ण गुरुङले जानकारी दिनुभयो ।

नेपाल सरकारको शंसोधन शिक्षा ऐन अनुसार १–८ आधारभुत तह, ९–१२ सम्म माध्यामिक तह भएकोले मेश्रम बराह माध्यमिक विद्यालयले ११ कक्षा सञ्चालनको लागि २०७४ सालमा अनुमति प्राप्त गरी ब्यवस्थापन बिषय सञ्चालन गरेको थियो । ११ र १२ को लागि नेपाल सरकारबाट करिव ३ बर्षसम्म शिक्षकको दरबन्दी उपलब्घ नहुने भएकोले निजी श्रोतमा राखिएका शिक्षकलाई तलब भत्ताको लागि आर्थिक श्रोतको ब्यवस्थापन बिधालयले नै गर्नु पर्ने बाध्यता रहेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मेजर ललितबहादुर गुरुङले बताउनु भयो ।

आफ्नो गाँउको विद्यालयमा कक्षा ११ र १२ कक्षा संचालन, विद्यालयको पुनः निर्माण एवं शैक्षिक तथा भौतिक गुणस्तर स्तरोन्नति एवं शैक्षिक विकासको लागि रोजगारीको शिलशिलामा बेलायत, हङकङ र जापानमा रहेका घान्द्रुक समाजमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी गाँउको विद्यालयलाई रकम सहयोग गरिएको घान्द्रुक समाज बेलायतका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।

अर्थ संकलन उप–समितिका संयोजक क्याप्टेन कमल गुरुङले रोजगारीको सिलसिलामा देश बिदेशमा रहेर पनि आफ्नो गाँउठाँउको विद्यालयलाई गरेको सहयोग प्रशंसनीय भएकोले सहयोगीदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताउनु भयो । सहयोग रकमले कक्षा ११ र १२ संचालन, विद्यालयको पुनः निर्माण एवं शैक्षिक तथा भौतिक गुणस्तर स्तरोन्नतिको लागि एवं शैक्षिक विकासका क्षेत्रमा सो रकम खर्चने बताउनुभयो ।

उप–समितिका कोषाध्यक्ष मेजर प्रेम थापाले हालसम्मको आय ब्यय प्रस्तुत गर्दै करीव दुई करोड संकलन गर्ने लक्ष्यका साथ थालिएको अभियानमा एक करोडको हाराहारी रकम संकलन भएको जानकारी गराउनु भएको थियो भने बिधालयका प्रधानध्यापक यमप्रसाद भण्डारीले बिधालयको गतिबिधि बारे प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्