अफगान राष्ट्रपतिको निर्वाचन, नतिजा आउन अझै ढिलाई



काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ ।

आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न ढिलाई भएका कारण तोकिएको मितिमा चुनावी नतिजा घोषणा गर्न नसएिको जानकारी दिनुभयो ।

अफगानिस्तानमा गत सेप्टेम्बर २८ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो । चुनावमा करिब ९५ लाख मतदाताले नामदर्ता गरेका थिए ।

चुनावमा सम्भावित धाँधली रोक्न पहिलो पटक बायोमेट्रिक प्रणाली प्रयोग गरिएको थियो । तर त्यस्तो मेसिनमा संग्रहित तथ्याँकबाट परिणाम निकाल्न पर्याप्त जनशक्ति नभएका कारण समस्या आएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले चुनावको नतिजा सार्वजनिक गर्ने अर्को मिति अझै तय गरेको छैन । तर प्रारम्भिक नतिजा १० दिनभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगको भनाई छ ।

निर्वाचन आयुक्त मौलाना मोहमद अब्दुल्लाहले पत्रकारहरुसँग कुरा गर्दै केही समस्या रहेपनि चुनावी परिणाम घोषणा गर्न तिब्र रुपमा काम भइरहेको बताउनुभयो ।

चुनावी नतिजालाई पारदर्शी बनाउने सन्दर्भमा मतपरिणाम सार्वजनिक गर्न केही ढिलाई हुनेमा काबुलस्थित अमेरिकी दूतावास, राष्ट्रसंघ र युरोपेली युनियनले जोड दिइरहेका छन् ।

सन् २०१४ मा राष्ट्रपतिको चुनावी मतपरिणामको पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको थियो ।एएनआई

प्रतिक्रिया दिनुहोस्