भक्तपुरका मिठाइ पसलमा अनुगमन, अखाद्य रसायन भेटियो



न्युज अफ नेपाल, काठमाडौं ।

भक्तपुरका मिठाइ पसलहरुमा बिक्रीका लागि राखिएका मिठाइमा अखाद्य रसायन र रङ्ग मिसाइएको भेटिएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भक्तपुर नगरपालिकाले बिहीबार नगरपालिकाको ७ वटा मिठाइ पसलहरुमा अनुगमन गरेका थिए ।

अनुगमन क्रममा पनिर किमा, लड्डु, समोसा र फिनी रोटी जस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।

नगरपालिकाको शाक्य स्विट्स, बिनायक मिठाइ भण्डार, सुरज मिठाइ भण्डार, जल्पादेवी मिठाइ भण्डार, लवजु मिठाइ भण्डार, रामेछाप मिठाइ भण्डार र श्रेष्ठ मिठाइ भण्डारमा अनुगमन गरिएको थियो । जसमध्ये रामेछाप मिठाइ भण्डारबाट भेज पनिर किमा २ किलो, लड्डु १ किलो, समोसा ३५ पिस नष्ट गरीएको थियो ।

यस्तै श्रेष्ठ मिठाइ भण्डारबाट चास्नी करिब ३ किलो, अखाद्य रङ्ग प्रयोग गरी बनाइएको फिनी रोटी करिब ४० पिस नष्ट गरीएको छ । लवजु मिठाइ भण्डारबाट अखाद्य रङ्ग प्रयोग गरिएको लड्डु १.५ किलो, फिनी रोटी करिब ५० पिस नष्ट गरिएको थियो ।

जल्पादेवी मिठाइ भण्डारमा पनि अखाद्य रसायन हाइड्रोको बट्टा १ थान, कृत्रिम फ्लेभर १ बट्टा, पटक–पटक मिठाइजन्य खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेल करिब १.५ लिटर नष्ट गरिएको बिभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्