भारतबाट आयातीत गरिमा धानमा बाला नै लागेन,कृषि ज्ञान केन्द्रले अनुसन्धान गर्दै



चितवन । धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट नै काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् ।

जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको किसानहरुले बताएका छन् । यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उनिहरुको भनाइ छ ।

भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउले यतिबेला किसानलाई बिचल्लीमा पारेको छ । धानमा बाला नलागेपछि एक महिनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो । उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका छन् ।

कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण संकलन भइरहेको बताए ।

उनले किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी दिए । व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्