उहानमा नेपाली सेनाको मार्चपास



नेपाल समाचारपत्र, काठमाडौं । चीनको उहान शहरमा शुक्रबारदेखि शुरू हुने सातौं विश्व सैनिक ग्रीष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी १ सय ५ राष्ट्रका झण्डोत्तोलन कार्यक्रम बिहीबार सम्पन्न भएको छ। उक्त झण्डोत्तोलन कार्यक्रमा नेपाली सेनाका खेलाडीले मार्चपास गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा फराइएको थियो।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्ले प्रत्येक चार वर्षमा सञ्चालन गर्ने सोे प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक सहभागिता जनाएको हो। ‘सैनिक गौरव र विश्व शान्ति’ नारासहित उहानका १२ स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ।

नेपाली सेनाका खेलाडीले आर्चरी, बीच भलिबल, कुस्ती, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथालन, ट्रयाक एन्ड फिल्ड, तेक्वान्दो, मोडर्न पेन्टाथलन, सुटिङ गरी १३ खेलमा भाग लिनेछन्। नेपालसहित विश्वका गरी प्रतियोगितामा १० हजार ७ सय १९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

कात्तिक १० गतेसम्म चल्ने प्रतियोगितालाई ओलम्पिकपछि दोस्रो ठूलो खेलकुद मेलाका रूपमा लिने गरिन्छ। प्रतियोगितामा दुई प्रदर्शनीसहित २७ खेलको समावेश गरिएको छ।

ढकाल निर्णायक

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल चीनको उहानमा हुने सातौं विश्व सैनिक खेलकुद प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न चीन पुगेका छन्। प्रतियोगितामा ढकाल सबैभन्दा कम उमेरका अन्तर्राष्ट्रिय निर्णायक हुन्।

 

प्रतिक्रिया दिनुहोस्