सोनियाको वल्र्ड जुनियर जुडोमा इतिहास



नेपाल समाचारपत्र, काठमाडौं।मोरक्कोमा भएको वल्र्ड जुनियर्स जुडो च्याम्पियनसिपमा नेपालकी सोनिया भट्टले इतिहास रचेकी छन्।बुधबार राति भएको महिलाको ४८ केजी तौल समूहतर्फ १६ वर्षीया सोनियाले पहिलो बाउटमा मोजाम्बिककी जेनी मुनेमेलाई हराएकी हुन्।

उनले सो खेल वाजारी आवासोती इप्पोनको आधारमा जितेकी थिइन्। योसँगै उक्त च्याम्पियनपमा कुनै पनि बाउट जित्नेमा उनी पहिलो नेपाली जुडो खेलाडी बनेकी छिन्। यसअघि कोही पनि नेपाली खेलाडीले सो च्याम्पियनसीपमा जित्न सकेका थिएनन्। तर उनी दोस्रो बाउटमा भने जापानी खेलाडी ऐको वाटानाबेसँग पराजित भइन्।

यस्तै अर्की नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पनि इतिहास रचिन्। मनिताले सो प्रतियोगितामा महिलाको ५७ केजीतर्फ ब्राजिलकी भिटोरिया एन्डरेडविरुद्धको खेलमा वाजारीको आधारमा हारे पनि पुरै ४ मिनेट टिकेर खेलिन्।

उनी सो च्याम्पियनसिपमा पुरै समय टिकेर खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्। तर अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पुरै ४ मिनेट प्रतिस्पर्धा गर्ने दोस्रो नेपाली खेलाडी हुन्। यसअघि रियो ओलम्पिक २०१६ मा फुपु ल्हामु खत्रीले ४ मिनेट टिकेर जुडोमा इतिहास रचेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्