क्वीन्स काठमाडौंको जित



नेपाल समाचारपत्र, काठमाडौं।कप्तान रुबिना क्षेत्री बेलबासीको अर्धशतकसँगै केट क्वीन्स काठमाडौंले राजधानीमा जारी महिला च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा केट क्वीन्सले पोखरा पल्टन वोमेनलाई ८२ रनले हराएर प्रतियोगितामा पहिलो जित हासिल गरेको हो।

अघिल्लो दिन बेलबासीको टोली चितवन राइनोज वोमेनसँग हारेको थियो। केट क्वीन्सले पहिले ब्याटिङ गरेर पोखरा पल्टनलाई १ सय ५३ रनको कठिन लक्ष्य पस्केको थियो। जवाफमा पोखराको टोली १६ दशमलव ५ ओभरमा ७० रनमै अलआउट भएको थियो।पोखराका लागि कप्तान सीता रानामगरले सर्वाधिक १७ रन जोडिन् भने बिन्दु रावलले १३ रन बनाएकी थिइन्।

अन्य भने दोहोरो अंकमा पुग्न नसक्दा टोलीले हार बेहोर्नुपरेको थियो। टोलीका ५ खेलाडी रनआउटका शिकार भएका थिए। काठमाडौं टोलीका बलरमा सरस्वती कुमारी र अप्सरी बेगमले घातक बलिङ गरेका थिए। सरस्वतीले ३ ओभरमा मात्र ५ रन दिएर २ विकेट लिँदा बेगमले १ दशमलव ५ ओभरमा त्यति नै विकेट लिन ८ रन खर्चेकी थिइन्।

एक विकेट लक्ष्मी साउदले प्राप्त गरिन्। यसअघि टस हारेर ब्याटिङ गरेको क्वीन्स काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो। टोलीका लागि कप्तान बेलबासीले शानदार ब्याटिङ गरिन्। ६७ बलमा १४ चौका र २ छक्का प्रहार गर्दै ८३ रन बनाएकी उनी नटआउट रहेकी थिइन्।

उनी प्लेयर अफ द म्याच घोषित भएकी थिइन्। अन्यमा रोमा थापाले १९ रन र शोभा आलेले १२ रनको योगदान दिएका थिए। त्यस्तै ईश्वरी विष्ट १० रनमा नटआउट रहिन्। बलिङमा पोखराकी अनुराधा चौधरी एक्लैले ४ विकेट लिएकी थिइन्।

विराटनगरको जित

विराटनगर टाइटन्स वोमेनले आफ्नो पहिलो खेलमा ललितपुर फाल्कन्सलाई ४ विकेटले पाखा लगाएको छ। ललितपुर फाल्कन्सले दिएको १ सय २३ रनको लक्ष्य विराटनगरले ६ विकेटको नोक्सानीमा ४ ओभर बाँकी राखेर भेटाएको थियो। टोलीको जितमा ओपनर ज्योति पाण्डेको अर्धशतक नै पर्याप्त भएको थियो।

ज्योतिले ४३ बलमा १० चौका र १ छक्कासहित ६५ रन जोडिन् भने सोनु खड्काले २४ रनको योगदान दिएकी थिइन्। यी ओपनरद्वयले पहिलो विकेटका लागि ८३ रन साझेदारी गर्नु नै जितको आधार बनेको थियो।

ललितपुरले ब्याटिङमा निर्धारित २० ओभरमा ७ विकेटकोे क्षतिमा १ सय २२ रन बनाएको थियो। ५ खेलाडी ४७ रनको लागि आउट भएपछि दबाबमा आएको टोलीका लागि मध्यक्रमका ममता चौधरीले सर्वाधिक २८ रन योगदान दिइन्।

पुछारका करुणा भण्डारीले २१ तथा कीर्ति सेन र सम्झना खड्काले १३/१३ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए। विराटनगरका शबनम राई र आरती बिदारीले १/१ विकेट लिए भने अन्य ५ खेलाडी रनआउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्