भाँडभैलोका बीच एनआरएनएको चुनाव



नेपाल समाचारपत्र, काठमाडौं। जताततैको भाँडभैलोका बावजुत गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन सम्पन्न भएको छ। बिहीबार बिहानबाट शुरू भएको मतदान विभिन्न समय स्थगन हुँदै बिहीबार साँझ ६ बजेसम्म चलेको थियो।निर्वाचन समितिका अनुसार २ हजार ६ सय ९३ मतदाता रहेको एनआरएनएमा २ हजार ३ सय ४१ मत खसेको छ। ६ वटा वुथ बनाएर गरिएको मतदानको मतगणना रातिसम्म जारी रहेको थियो।

एसिया प्रशान्त, अफ्रिका, युरोप, मध्यपूर्व र अमेरिका, आसियाना गरी ६ वटा भिन्नभिन बुथ निर्माण गरी मतदानको व्यवस्था मिलाइएको थियो। विभिन्न विवादका बाबजुद संघको निर्वाचन भएको हो।

यसपटक राजनैतिक पार्टी निकटबाट दुई प्यानल बनेर चुनाव भएको थियो। जसमा नेपाल कम्युनिष्ट पार्टीको समर्थन कुमार पन्त र नेपाली कांग्रेसको समर्थन कुल आचार्य प्यानल चुनावमा होमिएको थियो।

मंगलबारदेखि जारी सम्मेलनमा बुधबार मतदानको कार्यतालिका रहेको थियो। मतदानका लागि तयारीमा रहेको इलेक्ट्रिक भोटिङ मेसिनले काम नगरेपछि बुधबार राति मतदान स्थगन गरिएको थियो। त्यसपछि बिहीबार बिहान १० बजेदेखि मतदान चलेको हो।

मतदानमा भएको विभिन्नखाले विवादका कारण संघका दुई सयभन्दा बढी मतदाताले मतदान गरेनन्। उनीहरू मतदान नै नगरी बिहीबार नै विदेश फर्किएको एनआरएनए स्रोतले जानकारी दिएको छ।संघमा देखिएको राजनीतिक ध्रुविकरणले नवौं सम्मेलनमा उग्र रूप लिएको छ।

राजनैतिक प्यानलबाट निर्वाचनमा होमिएका उम्मेद्वारबीच विभिन्नखाले टिकाटिप्पणी भएपछि हायात होटलका कुर्सीहरू नै तोडफोड भएका छन्। बुधवार राती उनीहरूबिच भनाभन भएको र झैझगडा भएपछि प्रहरी नै परिचालन गर्नुपरेको हायात होटल स्रोतले बताएको छ।

विदेशमा सिकेको सीप, ज्ञान, र क्षमतााई नेपालमा भित्र्याउने उद्देश्यले स्थापित यस संस्था राजनैतिक पार्टीको भातृ संगठन जस्तो बनेको भन्दै धेरैले असन्तुष्टि जनाउँदै आएका छन्। एनआरएनका संस्थापक अध्यक्षसमेतले यसको विरोध गर्न थालेका छन्।

नेपालमा लगानी भित्र्याउने संस्थाको रूपमा चिनिने एनआरएनले हायात होटलका पाटपूर्जा नै तोडफोड गरेको भन्दै अहिले देशविदेशबाट एनआरएनएको आलोचना भइरहेको छ। यता सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरूले विमानस्थलमा देखाएको अभद्र व्यवहारबाट पनि संघको औचित्यमाथि प्रश्न उठेको छ।

विदेशमा बसेका नेपालीहरूको संगठनले नेपाली संस्कार नै भूलेको र संस्कृतिमाथि नै भद्दा मजाक गर्न थालेको पछिल्लो समय एनआरएनएलाई आरोप लाग्न थालेको छ। एनआरएनएकै कतिपय अभियन्ताहरूले अहिलेको संघ गलत ढंगमा चलेको भन्दै यसको औचित्यमाथि प्रश्न गर्न थालेका छन्। एनआरएनएभित्रै केही अभियन्ताहरूले नयाँ संघ गठन गर्नेसमेत तयारी गर्न थालेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्