युवाका समस्यालाई बुझौं



नेपाली युवामा बेरोजगारी कायमै छ। यो अत्यन्तै चिन्ताको विषय हो। त्यसैले वैदेशिक रोजगारीमा जोने युवाहरूको जमात घटेको छैन। किन यसरी युवा विदेश पलाएन भएका छन्? नेपालमा किन युवाले विकल्प देख्दैनन्? किन नेपालमा सम्भावना देख्दैनन्? किन योग्यताअनुसारको काम छैन? यस्ता प्रश्नले मलाई सधैं चिन्तित बनाइरहन्छ।

यसपालिको दशैंमा एउटा गतिलो समाचार सुन्न पाइयो। नेपाली युवाले खसीको व्यवसायबाट १५ करोडको कारोबार गरे अरे। गरे के हुँदैन? किन जानुपर्छ र विदेश। जोस जागँर र पाखुरीमा बल भएका युवाहरूबिना नयाँ र समृद्ध नेपालको परिकल्पना असम्भव छैन।

साँच्चै नयाँ नेपालको परिकल्पना गर्ने हो भने युवाहरूलाई विदेशिनबाट रोक्न सक्नुपर्छ। आज नेपालका गाउँहरू वृद्धाश्रमजस्तै हुन पुगेको तितो यर्थाथ हामीसँग छ। विदेशिनु कसैको रहर होला तर अधिकांश युवाको बाध्यता हो। यो बाध्यता कसरी सिर्जना भयो?

जति प्रश्न गरे पनि यसलाई रोक्ने एउटै विकल्प भनेको मुलुकभित्रै रोजगारीका अवसरको सिर्जना हो। यसको पहल राज्यबाटै हुनु अत्यन्तै आवश्यक छ। विदेशिएका युवाले पसिना बगाएर कमाएको पैसाले नेपालमा बसोबास गर्ने आफन्तजनको दैनिकी पूरा त भएको छ साथसाथै मुलुकको आर्थिक प्रणालीलाई टेवा पनि पुगेको छ

। गाउँठाउँमा मिठो–मसिनो चुलोमा पाकेको छ, एकसरो लुगाले परिवारका सदस्यलाई ढाकेको छ, औषधिमुलो पाएका छन् तर यतिलाई आधार मानी यसलाई सकारात्मक भन्न सकिँदैन। यसले डरलाग्दो गरी पारिवारिक र सामाजिक विघटनको अवस्थामा पुर्याएको छ।

विदेश पलायन रोक्न सर्वप्रथम नेपालका शैक्षिक संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रीजस्ता भएका छन्। शैक्षिक संस्थामा व्यापक सुधार गर्नु आवश्यक छ। नेपालको माटो सुहाउँदो, परिवेश सुहाउँदो गरेर खानसक्ने खालको पठन–पाठन हुनु आवश्यक छ।

युवालाई विकास र समृद्धिका लागि परिचालन गर्ने सवालमा राज्यले स्पष्ट नीतिगत व्यवस्थासहित ठोस कार्यक्रम ल्याउनु जरुरी छ। त्यसले मात्र नेपालमा बेरोजगारी हट्छ। देशमै पसिना बगाउने बाटो नपाएर विदेश पलायन भएका हुन् युवाहरू। यो कुरा सरकारले स्मरण गर्नु अत्यन्तै जरुरी छ।

प्रताप पौडेल,
बानियाटार, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्