फौजी कीराले सिध्याउँदै मकवानपुरका धान, किसान चिन्तित



हेटौंडा, (नेस) ।
धान पाकेर उत्पादन लिने बेला फौजी कीराले बोट र बाला काटेपछि मकवानपुरका किसान मारमा परेका छन् । गाउँपालिकाहरुका किसानले धानमा फौजी कीरा लागेको जानकारी स्थानीय कृषि प्राविधिकहरुलाई दिएका छन् ।

पाकेर भित्र्याउने बेला भएको धानमा फौजी कीराको प्रकोपले यहाँका सयौं बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ । कृषि प्राविधिकले कीराको प्रकोप नियन्त्रणका लागि प्रयासरत् रहेको जनाएका छन् ।

फौजी कीराको प्रकोप बढ्दै गएपछि मकवानपुरका किसान चिन्तित बनेका हुन् । जिल्लाको मकवानपुगढी, मनहरी, भीमफेदी, बकैयालगायत धान खेती प्रशस्त हुने गाउँपालिका क्षेत्रमा धानबालीमा फौजी कीराको प्रकोप देखिएको छ ।

मकवानपुरमा आर्थिक वर्ष २०७५÷०७६ मा ११ हजार एक सय ८० हेक्टरमा धान लगाइएकोमा ४२ हजार आठ सय ८४ मेट्रिकटन धान उत्पादन भएको प्रदेश–३ को भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यहाँ विशेषगरी मकवानपुरे, सावित्री र राधा धान लगाइन्छ । अचेल हाइब्रिड धानसमेत लगाउने चलन छ । हेटौंडा उपमहानगर, मनहरी, बकैया र बागमती गाउँपालिकामा धानखेती हुने गरेको प्रदेश–३ को कृषि, भूमि तथा सहकारी मन्त्रालयकी अधिकृत रचना देवले जानकारी दिनुभयो ।

फौजीजस्तै हुल बाँधेर ठूलो समूहमा आउने हुँदा यस्तो कीरालाई फौजी कीरा भनिएको हो । यसले सबै खेतमा एकसाथ आक्रमण गर्छ ।

जिल्लाको मकवानपुरगढी गाउँपालिकामा देखा परेको फौजी कीराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि धान उत्पादन घट्ने देखिएको छ । मकवानपुरगढीको कुर्लेफाँट, धादिङफाँट, डुम्रेकुना, धमिलेफाँटलगायत क्षेत्रमा फौजी कीराको प्रकोपले धानबाली नष्ट भएको मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

फौजी कीराका कारण सयौं बिगाहा जग्गामा लगाइएको काट्ने बेला भएको धानबाली नष्ट भएको मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

प्रकोपका रुपमा धानबालीमा देखापरेको फौजी कीराको रोकथाम र क्षति न्यूनीकरणका लागि गाउँपालिकाले कृषकभेला सुरु गरेको उहाँले बताउनुभयो । फौजी कीराले थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने प्राविधिक चौधरीको भनाइ छ । उक्त कीराले दिनभर धानको गाँजमा लुक्ने र रात परेपछि धानको डाँठ, पात र टुप्पा खाने गर्दछ । काला र खैरा रंगका कीराले जराबाट धान काटिदिने गरेका हुन् ।

धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि यसको समाधान कसरी गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफललाई तीव्रता दिँदै समस्या समाधानको बाटो खोज्न शुरु गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो ।

कृषि प्राविधिकसहित बुधबारदखि स्थलगत अवलोकन, अभिमुखीकरण र अन्तक्र्रिया सुरु गरिएको अध्यक्ष हुमागाईंले जानकारी दिनुभयो । हाल कतिपय कृषकले विषादी छरिसकेको, कतिपयले विषादी छर्ने तरखरमा रहेको स्थलगत अवलोकनबाट पाइएको छ । विषादी छरेको स्थानमा कीराहरु मरेको र कीराको संख्यामा कमी भएको तर, करिब सबैतिर कीरा फैलिसकेकोले थप समस्या भएको अध्यक्ष हुमागार्इंले बताउनुभयो ।

‘एक जना किसानले औषधि छर्केरमात्र सम्भव हुँदैन,’ प्राविधिकले भने–छेउछाउका सबै किसान मिलेर औषधि प्रयोग गरे फौजी कीराबाट बाली जोगाउन सम्भव छ । सामूहिकरुपमा किसानले हरियो धान हुँदै औषधि छरे केही प्रतिशत नियन्त्रण गर्न सकिने विश्वास छ ।
अवलोकनपश्चात् किसानलाई पाकिसकेको धानबाली जतिसक्दो छिटो खेतबाट निकाल्नु नै उपयुक्त हुने बताइएको थियो । पाक्न बाँकी बालीमा भने फर्मालिन वा फेनाइलजस्ता कीटनाशक औषधि प्रयोग गर्न सुझाव दिइएको छ ।

धान काटेर नराख्न, सम्भव भएसम्म हाँस अथवा लोकल कुखुरा खेतमा छोड्दा केही हदसम्म कीरा कम गर्न सकिने, सुरक्षित विषादी सावधानी अपनाएर प्रयोग गर्न सुझाव दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताउनुभयो ।

गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्रियुगिपेर्डा हो । बालीमा क्षति पु¥याउने चाहीँ कीराको लार्भाले हो । फल आर्मीवर्म (एफएडब्ल्यु ) नामक यो कीरा बालीका लागि निकै हानिकारक हुन्छ ।

बालीनाली नभेटेका बेला घाँसमात्र खाएर पनि बाँच्ने यो कीराले बन्दा, चुकन्दर, बदाम, प्याज, भटमास, गोलभेंडा, आलुमा पनि क्षति पु¥याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्