सहयोगी विकास बैंकका सञ्चालक पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं।किर्ते गरेको अभियोगमा सहयोगी विकास बैंकका सञ्चालक समितिका निवर्तमान सदस्य दीपेन्द्रकुमार यादव पक्राउ परेका छन्। उनलाई जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार नेकपाका नेता समेत रहेका उनी ठगी गरेको अभियोगमा फरार रहेका थिए। उनमाथि जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेको तथा ठगी गरी बिक्री गरेको अभियोग छ।

प्रहरीका अनुसार ८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिबासस्थित ५ कठ्ठा जग्गा व्यक्तिगत रुपमा यादवकोमा धितो राखी ५० लाख रुपियाँ ऋण लिएका थिए।

केही वर्षभित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपियाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा उनले मुद्दा दायर गरेका थिए। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

यसैबीच, यादवको पक्राउमा बैंकको कुनै सम्बन्ध नभएको सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर खड्काले बताउनुभएको छ।

उनी आफ्नै व्यक्तिगत कारणले पक्राउ परेको र हाल उनी बैंकको सञ्चालक समिति सदस्य समेत नरहेकाले उनको पक्राउमा बैंकको कुनै पनि विषय नजोडिएको सीईओ खड्काको भनाई छ।

प्रतिक्रिया दिनुहोस्