सम्पादनका मित्र



काम गर्दै जाँदा मित्र देव गुरुङ फिल्म सम्पादनको क्षेत्रका मित्र बन्न पुगेका छन्। एक दशक लामो समयदेखि उनले फिल्म सम्पादनसँग मित्रता गाँसिरहेका छन्। दर्जनौं फिल्मको सम्पादन गरे पनि फिल्म जात्राको सफलतासँगै अगाडि आएका मित्रलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन।

‘जात्राले आइडेन्टिटी दियो। रवीन्द्र सिंह बानिया सरको टलक जंग भर्सेस टुल्के फिल्मको सब टाइटलिङदेखि विदेशका लागि फाइल बनाउने काम गरेको थिएँ। त्यसमा सानो काम गरेपछि मलाई उहाँले विश्वास गर्नुभयो र जात्राको सम्पादन गर्ने अफर गर्नुभयो। त्यसरी प्रदीप भट्टराई जस्तो राम्रो डाइरेक्टर र राम्रो टिमसँग काम गर्ने मौका पाएँ।’ –मित्र भन्छन्।

उनले जात्रामार्फत एनएफडीसी, फान, नेसनल अवार्डजस्ता धेरै फिल्म अवार्ड चुमे। पछिल्लोपटक मित्रलाई डी–सिने, एनएफडीसी तथा नेसनल अवार्ड दिलाउने फिल्म भने मंगलम्, शत्रु गतेलगायत हुन्।

मित्रले २०६५ सालमा माँ और आशिर्वाद नामक राजवंशी भाषाको फिल्ममार्फत सम्पादनमा हात हालेका थिए। त्यसपछि मिलापमार्फत नेपाली फिल्म सम्पादन गरेपछि हातमा लाग्यो शून्य, रंग बैजनी, बुद्ध बर्न इन नेपाल, ठूली जस्ता फिल्ममार्फत उनले सम्पादन कार्य जारी राखेका छन्।

नुवाकोटमा जन्मेका मित्रले २०६१ सालतिर फिल्म सम्पादनबारे ज्ञान लिएका थिए। ‘मैले गुरु मानबहादुर थापासँग एडिटिङ सिकेको हुँ। मेरो बुबा आर्मीमा हुनुहुन्थ्यो। उहाँ मेरो बुबाको साथी हुनुहुन्थ्यो। त्यसपछि विस्तारै डकुमेन्ट्री र म्युजिक भिडियो सम्पादन गर्न थालें। साथै गुरुको एसिस्टेन्ट पनि गरें।’ –उनले भने।

नेपाली फिल्मका सम्पादनको समस्या भनेको पोस्ट प्रोडक्सनका लागि थोरै समय छुट्ट्याउनु रहेको मित्रको अनुभव छ। ‘फिल्म रिलिजको समय आइसकेको हुन्छ। सम्पादनका लागि भने समय निकै कम हुन्छ। त्यस कारण निकै प्रेसर हुन्छ। तर, राम्रो फिल्म छ भने काम गर्दा मजा पनि हुन्छ।’ –उनी भन्छन्।

नेपालमा अहिले निर्देशकले जे गर भन्यो फिल्म सम्पादकले त्यही मात्र गर्ने स्थिति नरहेको मित्र बताउँछन्। ‘अहिलेको निर्देशकले एडिटरको भ्युज बुझ्नुहुन्छ। म फिल्मको स्क्रिप्टमा पनि बस्छु। जानेका कुराहरू निर्देशकसँग शेयर पनि गर्छु।

जसले गर्दा फिल्म राम्रो बन्छ र सम्पादनमा पनि सजिलो हुन्छ’, उनले सुनाए– ‘फिल्म सम्पादन टेबलमा धेरै हेरफेर हुन्छ। तर, फुटेज नै छैन भने नभएको कुरा राख्छु र स्क्रिप्ट नै चेन्ज गर्छु भनेर सम्पदकले सक्दैन। पर्याप्त फुटेज भएको अवस्थामा एडिटरले धेरै हदसम्म फिल्म राम्रो बनाउन सक्छ।’

प्रतिक्रिया दिनुहोस्