एउटा अनौठो जनावर अल्पाका



ज्ञानमणि नेपाल कालोटोपी
चित्लाङ, मकवानपुर

मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ। यो भेग कृषि, पशुपालन र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ। राजधानी काठमाडौंबाट करिब ६० किमिको पश्चिमदक्षिण दिशामा अवस्थित चित्लाङका बारेमा धेरैलाई थाहा हुन सक्छ।

अल्पकाको रौं प्रतिकिलो ७० हजारदेखि १ लाख रुपियाँसम्म पर्छ। यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ। सिंगो अल्पकाको मूल्य ७ देखि १० लाख रुपियाँसम्म पर्छ। 

तर, त्यही चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ, त्यसका बारेमा भने कमैलाई मात्रै थाहा होला। जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो। झट्ट हेर्दा यो जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ।

घाँटी र टाउको ऊँटको जस्तै छ। यसको हिँडाइ पनि ऊँट जस्तै छ। रौं हेर्दा भेडाजस्तो देखिन्छ। पुच्छर भने घोडाको जस्तो छ। तर, यो जनावर ऊँट, घोडा वा भेडामध्ये कुनै पनि होइन भन्ने सुन्दा अचम्म लाग्न सक्छ। आखिर के रहेछ त यो अचम्मको जीव ? जर्मन भाषामा यसलाई अल्पाका भनिँदो रहेछ। नेपालीमा पनि यही नामले चिनिन्छ।

विगत २० वर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलोपटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्याएका थिए। उनले शुरूमा दोलखाको जिरीमा सोखका लागि यो जनावर पालेका थिए।

मकवानपुरको बिसिङखेलमा २ वर्षदेखि अल्पका पालिँदै आएको भए तापनि नेपालमा यो जनावर भित्रिएको भने २० वर्ष भइसकेको छ।अल्पकाले एक वर्षमा एकपटक मात्रै बच्चा जन्माउँछ र एकपटकमा एउटा मात्रै पाउँछ। यसको आयु २५ वर्षसम्म हुन्छ।

चित्लाङको यस फर्ममा अहिले २० वर्ष पुगेका अल्पकासमेत छन्। बिसिङखेलस्थित अल्पकाज फर्ममा अहिले सेतो, खैरो र कालो रंगका गरी १५ वटा अल्पका छन्। उनीहरूलाई दिनमा ४ देखि ५ भारीसम्म घाँस आवश्यक पर्ने जिरेल बताउँछन्।

अल्पाकाको अनौठो स्वभाव
अल्पाकाको स्वभाव पनि अनौठो खालको हुन्छ। अल्पकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ। केही गरी सँगै राख्यो भने झगडा गरेर हैरान पार्छन्। यिनीहरू माइनस १० डिग्री सेल्सियससम्मको चिसोमा पनि बाँच्न सक्छन्। जिरेलले अल्पकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिसापिसाब गर्ने स्वभावसम्मका कुराहरू सुनाए।

यो जनावरले दिसापिसाब सधैं एउटै ठाउँमा मात्र गर्छ। यो आफ्नो बथान छोडेर कतै भाग्दैन। देख्दा डर लाग्ने भए पनि मान्छेलाई कहिल्यै केही गर्दैन। गर्मी ठाउँमा यो बाँच्न सक्दैन।
यति धेरै महँगो जीव आखिर किन पालिन्छ त ? भन्ने धेरैलाई जिज्ञाशा लाग्छ सक्छ।

खासमा यो जीव दुई कारणले पाल्ने गरिन्छ। पहिलो सोखका रूपमा र दोस्रो रौंंको व्यावसायिक उत्पादनका लागि। बिसिङखेलस्थित यो फर्ममा भने रौंका लागि अल्पका पालिँदै आएको छ। यसको रौं प्रतिकिलो ७० हजारदेखि १ लाख रुपियाँसम्म पर्छ।

यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ।सिंगो अल्पकाको मूल्य ७ लाखदेखि १० लाख रुपियाँसम्म पर्छ। यसको रौंबाट बनाइएका ज्याकेटहरू जाडोमा न्यानो हुन्छन् भने गर्मीमा चिसा हुन्छन्।

त्यसैले यस्ता ज्याकेटको मूल्य पनि सामान्य ज्याकेटभन्दा महँगा हुन्छन्। अहिले अल्पका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छे मकवानपुरको बिसिङखेल पुग्ने गरेका छन्। यसले त्यहाँको पर्यटकीय आकर्षण पनि थपेको स्थानीय रामजी बलामीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्