सिंहदरबारको प्रबलीकरणका लागि ठेक्का सम्झौता



काठमाडौं, (नेस)।सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ।

प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो। सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मीप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभयो।

जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपियाँमा प्रबलीकरणको ठेक्का पाएको छ। सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य शुरु गर्नेछ।आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा मजबुत हुने गरी प्रबलीकरण गरिने जानकारी दिनुभयो।

ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।प्रबलीकरण कार्यको परामर्शदातामा आईआरसी–इकोकोड नेपाल जेभी छनोट भएको छ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो। उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्