जलविद्युत्मा लगानी गर्न एनआरएनएलाई आग्रह



नेपाल समाचारपत्र, काठमाडौं।अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ। गैरआवासीय नेपाली संघको नवौं सम्मेलनमा बोल्दै मंगलबार उहाँले जलविद्युतको क्षेत्रमा लगानी गरे उच्च प्रतिफल पाइने समेत बताउनुभयो।

खतिवडाले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्ब लगानीको अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

दश वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य सुनाउँदै उहाँले त्यसका लागि आन्तरिक लगानीले नपुग्ने भएकाले बाह्य लगानी जरुरी रहेको बताउनुभयो। उहाँले शेयर बजारमा लगानी गर्नको लागि गाँठो फुक्ने क्रममा रहेको भन्दै लगानी गर्न समेत आग्रह गर्नुभयो।

‘एनआरएनको लगानी शेयर बजारमा भित्राउनको लागि केही गाँठोहरू थिए, त्यो अब फुक्ने क्रममा रहेको छ, शेयर बजारमा लगानी गर्नुहोस,’ उहाँले भन्नुभयो। नेपालमा लगानी गर्दा मुनाफा बढी भएको बताउँदै उहाँले कर लगायतको समस्या अब नहुने स्पष्ट पार्नुभयो।

गैरआवासीय नेपालीहरूले आर्थिक विकासमा राम्रो योगदान दिएको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो।कार्यक्रममा बोल्दै नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरू उत्प्रेरक हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालमा वैदेशिक लगानी भित्राएर पूर्वाधार विकासमा सघाउन संघलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट लगानी ल्याउनका लागि समस्या भए आफूलाई भन्न आग्रह गर्नुभएको छ।

अहिले परराष्ट्र मन्त्रालयले एनआएनए महाशाखा नै स्थापना गरेको बताउँदै उहाँले लगानी ल्याउनका लागि केही समस्या आएको खण्डमा महाशाखामा भन्न आग्रह गर्नुभएको हो।

अहिले नेपालमा राजनीतिक स्थिरता भएको तथा लगानीको वातावरण समेत भएकाले यो अवसरमा लगानी बढाउन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्