एनआरएनए निर्वाचन आज, झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिने



न्युज अफ नेपाल,काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुने भएको छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुने छ ।

गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिनेछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने पनि बताईएको छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।

दुबै प्रत्यासीहरुको प्रचार शैली निकै भड्किलो र खर्चिलो भएको भन्दै केही प्रतिनिधिहरुले आलोचनासमेत गरेका छन् । संघको स्थापनाको उद्देश्यविपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्मेलनको उदघाटन बहिस्कार गरेका छन् ।

तर, एनआरएनको विधानविपरित दुवै अध्यक्षका प्रत्यासीहरु प्यानल नै बनाएर चुनाव लड्ने भएका छन् । आचार्यले सोमबार दिउँसो नै पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका थिए । पन्तले गोप्यरुपमै आफ्नो प्यानललाई अन्तिम रुप दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्