चौध प्रहरीको गोली हानी हत्या



मेक्सिको सिटी, (एजेन्सी)।मेक्सिकोको पश्चिम भागमा भएको गोली काण्डमा मंगलबार १४ जना प्रहरी अधिकारीको ज्यान जानुका साथै अन्य तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। मिचोआकान राजयको एल आगुआजे शहरमा अदालतको आदेश पालना गर्न जाँदै गरेका प्रहरी टोली चढेको सवारीसाधनमाथि बाटोमा आक्रमण गरिएको थियो।

जालिस्को नुएभा जेनेरासियोन कार्टेल नामक एक शक्तिशाली कुख्यात अपराधी समूहको यस आक्रमणमा हात हुनुपर्ने आशंका गरिएको छ। सरकारले हत्याराहरू पत्ता लगाई छाड्ने प्रतिबद्धता जनाएको छ। यस क्षेत्र लामो समयदेखि लागूऔषध तश्कर समूहहरूबीचको हिंसात्मक भिडन्तका लागि कुख्यात रहँदै आएको छ।

गत डिसेम्बरमा सत्ता सम्हाले यता राष्ट्रपति एन्द्रेस म्यान्युयल लोपेज ओव्राडोरले लागूऔषध अपराध नियन्त्रण गर्ने प्रयास गर्दै आएका छन्। प्राप्त समाचारअनुसार पिक ट्रकहरूमा आएको अज्ञात सशस्त्र व्यक्तिहरूले प्रहरीहरूलाई घेरेर गोली हानेपछि तिनीहरूको सवारीसाधन जलाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्