नियम तोड्दै दुई लेखिकालाई बुकर पुरस्कार



लन्डन, (एजेन्सी)। यो वर्षको बुकर पुरस्कारका लागि मार्गरेट एटवुड र बर्नार्डिन एवरिस्टोलाई संयुक्तरूपमा विजता घोषणा गरिएको छ। निर्णायक मण्डलले यो वर्ष निमय तोड्दै दुई विजेताको नाम घोषणा गरेको हो। एवरिस्टो यस प्रतिष्ठित पुरस्कार जित्ने पहिलो अश्वेत महिला हुन्। उक्त पुरस्कारका लागि चयन भएका ६ पुस्तकमा उपन्यासकार सलमान रुस्दीको उपन्यास क्विचोटे पनि परेको थियो।
बुकरको नियमअनुसार यो पुरस्कार बाँड्न सक्दैन। तर, निर्णायक मण्डलले एटवुडको ‘द टेस्टामेन्ट’ र एवरिस्टोको ‘गर्ल, ओमन, अदर’ मध्ये कुनै एकलाई मात्र चयन गर्न नसकेको जनाएको छ।
यो पुरस्कारको शुरूआत सन् १९६९ मा भएको थियो। यसअघि सन् १९९२ मा दुई जनालाई संयुक्तरूपमा यो पुरस्कार प्रदान गरिएको थियो।

त्यसपछि नियममा परिवर्तन गरिएको थियो। आयोजकहरूले यो वर्षको निर्णायक मण्डलसँग २ विजेता चयन गर्न सकिने भनेका थिए। ५ सदस्यीय निर्णायक मण्डलका अध्यक्ष पिटर फ्लोरेन्सले ५ घन्टाको विचार विमर्शपछि भने– ‘नियम तोड्ने हाम्रो निर्णय भएको छ। दुवै लेखिकालाई गिल्डहलमा एक भव्य कार्यक्रममा ५० हजार पाउन्डको पुरस्कार धनराशी बाँडिनेछ।’

७९ वर्षीय क्यानडाली लेखिका एटवुडले एवरिस्टोसँग पुरस्कार साझा बनाइएकोमा खुसी व्यक्त गरिकी छन्। आफू धेरै बुजुर्ग भइसकेकाले मानिसको धेरै ध्यान आवश्यक नभएकाले एवरिस्टोसँग पुरस्कार साझा गरिएकोमा खुसी लागेको उनले बताइन्।

६० वर्षीय अश्वेत बेलायती लेखिकाले पुरस्कार जितेकोमा भनिन्– ‘हामी अश्वेत बेलायती महिलालाई थाहा छ, यदि हामी आफ्नो बारेमा लेख्दैनौं भने अरू कसैले यो काम गर्दैन। मार्गरेट एटवुड महान् र उदार भएको तथा उनीसँग पुरस्कार पाउनु अविश्वसनीय भएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्