बेलायती शाही दम्पतीको पाकिस्तानी बिद्यालय भ्रमण



इस्लामावाद, (एजेन्सी)। बेलायतका ड्युक अफ क्याम्ब्रिज राजकुमार विलियमले शाही भ्रमणको दौरान पहिलोचोटि पाकिस्तान पुग्ने क्रममा मंगलबार मानसिक स्वास्थबारे अध्ययनरत युवाको महत्वबारे बोलेका छन्। पाकिस्तान भ्रमणको पहिलो पूरा दिन विलियम र डचेस अफ क्याम्ब्रिजले इस्लामावादस्थित सरकारी कलेजमा यस विषयमा अध्ययनरत छात्रछात्रालाई भेटेका छन्।

त्यहाँबाट बिदा हुने क्रममा विलियमले तिनीहरूलाई मानसिकरूपमा चुनौती भोगिरेकाहरूले स्थिर स्वास्थ्य मञ्च पाउन नसकेको बताएका थिए। यस शाही दम्पतीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन्। तिनीहरूले खानसँगै लन्च लिएका थिए।

केन्सिंग्टन प्यालेसले राजनीतिक तनाव र सुरक्षा चिन्ताको कारण यो तिनीहरूको हालसम्मकै सबैभन्दा जटिल भ्रमण भएको बताएको छ। फरेन एन्ड कमनवेल्थ अफिसको विशेष अनुरोधमा यो भ्रमणको व्यवस्थापन गरिएको हो। सोमबार साँझ पाँचदिने भ्रमण दौरान ड्युक र डचेस रावलपिन्डीस्थित पाकिस्तानी वायु सैनिक अखडामा आइपुगेका थिए।

सन् २००६ मा बेलायतका प्रिन्स अफ वेल्स र डचेस अफ कोर्नवेलले यस क्षेत्रको भ्रमण गरे यता औपचारिकरूपमा कमनवेल्थ मुलुकमा पुग्ने यो पहिलो बेलायती शाही दम्पती हुन्। इस्लामावाद मोडल कलेज फर गल्र्सबाट हिँड्ने क्रममा ड्युक र डचेसले त्यहाँका एक शिक्षकलाई संयुक्त अधिराज्यले पनि मानसिक स्वास्थ्यलाई शिक्षाको एक भाग बनाउने प्रयास गरिरहेको जानकारी दिएका थिए।

राजकुमार विलियम र राजकुमारी क्याथरिनको यस भ्रमणको उद्देश्य पाकिस्तानमा बालिकाहरूको शिक्षाबारे जानकारी हासिल गर्नु पनि रहेको छ। एक स्थानीय शिक्षा अधिकारी मोहमद सोहाली खानले पाकिस्तानभरि शिक्षाको गुणस्तर फरक–फरक रहेको जानकारी पत्रकारलाई दिएका छन्। उनले अहिले विस्तारै बालिकाहरूलाई विद्यालय पठाइनुहुन्न भन्ने पुरानो सोचमा परिवर्तन आउन थालेको पनि बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्