टर्कीसँगको १ सय अर्ब डलरको व्यापार वार्ता रोकिने



वासिङ्टन, (एजेन्सी)। संयुक्त राज्य अमेरिकाले टर्कीले सिरियामाथि आक्रमण गरेका कारण तुर्केली मन्त्रिपरिषद् र उच्च सरकारी अधिकारीमाथि मंगलबार नाकाबन्दी लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ। अमेरिकी वित्तमन्त्री स्टेभेन मुनचिनले टर्कीका दुईवटा मन्त्रालय र तीन जना उच्च सरकारी अधिकारीमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको बताएका छन्।

टर्कीको रक्षा, ऊर्जा र गृह मन्त्रालयमाथि प्रतिबन्ध लगाइएको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ। प्रतिबन्ध लगाएपछि अमेरिकामा रहेको उक्त मन्त्रालयको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने र त्यसको कुनै कारोबारसमेत गर्न नपाउने जनाइएको छ।

टर्की सरकारको कदमले निर्दाेष सर्वसाधारणमाथि खतरा उत्पन्न भएको र उक्त क्षेत्रमा अस्थिरता उत्पन्न गराएकाले प्रतिबन्ध लगाइएको अमेरिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तुर्केली राष्ट्रपति रिसेप ताइप एर्दोगानलाई टेलिफोन गर्दै तत्काल युद्ध रोक्न माग गरेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।

उपराष्ट्रपति पिनेकले आफूले यथाशीघ्र सिरियाकोे उक्त क्षेत्रको स्थलगत भ्रमण गर्नेे बताएका छन्। अमेरिकाले आफ्नो बाँकी रहेका फौज फिर्ता लगेपछि टर्कीलाई आफ्नो बल प्रयोग गर्न ग्रिन सिग्नल दिइएको भन्दै निकै अन्तर्राष्ट्रिय जगतमा आलोचना भइरहेका बेला अचानक अमेरिकाले यसरी टर्कीमाथि प्रतिबन्ध लगाएको हो।

टर्कीले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सलाई सीमाक्षेत्रबाट लखेट्न चाहेको हो। अघिल्लो दिनमात्र सिरियाले आफ्नो सरकारी फौजलाई उत्तरी क्षेत्रमा लैजाने जनाएको थियो। टर्कीले सिरियन डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ लाई निकै ठूलो आतंककारी लडाकू समूहका रूपमा लिएको छ।

टर्किस लडाकू समूहले आफ्नोे सरकारले जस्तै उक्त क्षेत्रमा शान्ति क्षेत्र स्थापना गर्न चाहेको हो। यसैबीच करिब २० लाख सिरियाली शरणार्थीलाई टर्कीमा पुनःस्थापना गर्न चाहेकोसमेत तुर्केली सरकारले जनाएको छ।

तर, टर्कीको यस कदमलाई स्थानीय कुर्द जनसंख्याको बाहुल्य रहेको क्षेत्रमा जातीय सफाया गर्न खोजिएकोे भन्दै व्यापक आलोचना भइरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले टिवट गरेका छन्– ‘मैले टर्कीमाथिको ट्यारिफ ५० प्रतिशतले वृद्धि गर्नेछु।

साथै तत्कालै टर्कीसँग हुने भनिएको १ सय अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौतासम्बन्धी वार्ता रोक्नेछु।’ यसैबीच रसियाले टर्की र सिरियाका फौजबीच भिडन्त हुन नदिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्