दशैंमा ४२ दुर्घटना, २ को मृत्यु



बाँके, (नेस)।बाँकेमा दशैं अवधिमा ४२ वटा सवारी दुर्घटना भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका अनुसार, घटस्थापनादेखि पूर्णिमा सम्ममा जिल्लामा साना ठूला ४२ वटा दुर्घटना भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्।

घटनास्थापनाको दिन १२ गते भएको मोटरसाइकल दुर्घटनामा कृष्णबहादुर थापामगर र १७ गते कुसुममा भएको एम्बुलेन्स दुर्घटनामा इन्द्रा घर्तिको मृत्यु भएको हो। रुकुमबाट नेपालगन्जतर्फ आउँदै गरेको एम्बुलेन्स कुसुममा दुर्घटना हुँदा बिरामी इन्द्राको मृत्यु भएको थियो। एम्बुलेन्समा रहेका तीन जना घाइते भएका थिए।

१७ गते दुर्घटना भएकोमा २१ गते इन्द्राको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब निरीक्षक ओम पौडेलले जानकारी दिए। १२ गते भएको मोटरसाइकल दुर्घटनामा पछाडि बसेका थापामगरको मृत्यु भएको थियो।

दशैं अवधिमा भएको दुर्घटनामा दुई वटा छाडा पशुको मृत्यु भएको छ। ट्राफिक प्रहरीले यो अवधिमा ट्राफिक नियम उल्लंघन गरेका ८ सय ७१ वटा सवारी साधनलाई कारबाही गरेको छ। त्यसबापत ४ लाख ८५ हजार पाँच सय राजस्व जम्मा भएको छ।

ट्राफिक प्रहरीले दशैंको बेला नम्बर प्लेट मेटिएका सवारी साधनमा नयाँ लेखाउने अभियान थालेको थियो। यो अवधिमा ४ सय ५९ वटा सवारी साधनमा नयाँ नम्बर लेखाएको छ। ट्राफिक प्रहरीले जाँच गर्दा नम्बर प्लेट खुइलिएको, मेटिएको सवारी साधनलाई रोकेर लेख्न लगाएको थियो।

प्रहरीले जाँच स्थलमै र केहीलाई भोलिपल्ट नम्बर प्लेट लेखाएर ल्याएपछि सवारी साधन छोड्ने गरेको थियो। प्रहरी नायब निरीक्षक पौडेलले खुइलिएको नम्बर पुनः लेखाउँदा ट्राफिक प्रहरीले जरिवाना नगराएको बताए।

दुर्घटना गराएर सवारी साधन भाग्ने र नम्बर प्लेट खुइलिएका कारण नम्बर चिन्न नसक्दा अभियुक्तलाई कारबाही गर्न गाह्रो भएपछि बाँके प्रहरीले खुइलिएका नम्बर प्लेट नयाँ लेखाउने अभियान थालेको थियो। ट्राफिक प्रहरीले दशैं अवधिमा मापसेमा तीन जनालाई कारबाही गरेको छ।

प्रतिक्रिया दिनुहोस्