अझै बनेनन् सीसी क्यामेरा



नेपाल समाचारपत्र, बाँके।असोज ४ गते नर्सिङहोमअगाडि दाङकी सीता चौधरीलाई मोटरसाइकलले ठक्कर दियो। बीपीचोकदेखि दक्षिणतिर जाँदै गरेको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट चौधरीको मृत्यु भयो।

घटनापछि विद्यार्थीले दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरे। प्रहरीमाथि दवाव बढाए। ठक्कर दिने मोटरसाइकलको भने अहिलेसम्म नम्बर खुल्न सकेको छैन। चौधरीलाई ठक्कर दिने मोटरसाइकलको किन पहिचान हुन सकेन ? बाँकेका एसपी वीरबहादुर वली भन्नुहुन्छ, ‘सडकमा राखिएका सीसी क्यामेरा बिग्रिएकाले मोटरसाइकलको नम्बर पत्ता लाग्न सकेन।’

यो घटनापछि प्रहरीले सीसी क्यामेरातर्फ ध्यान दियो। बडो उत्साहका साथ जडान गरिएका सीसी क्यामेरा बिग्रिँदा कसैले चासो दिएका थिएनन्।चौधरीकोजस्तो ‘हिट एन्ड रन’का घटनालाई मध्यनजर राखेर प्रहरीले सीसी क्यामेरा मर्मत थालेको छ। नेपालगन्जका सडकमा जडित ५६ वटा सीसी क्यामेराले अझै काम गरिसकेका छैनन्।

चौधरीको घटना हुँदा सडकका ५६ मध्ये ९ वटा क्यामेराले काम गरेका थिए। एपसी वलीका अनुसार काठमाडौंबाट प्राविधिक बोलाएर ३३ वटा क्यामेरा मर्मत गरिएको छ। अझै २३ वटा मर्मत गर्न बाँकी रहेको छ।

अपराध गरेर भाग्ने व्यक्ति र सवारी साधनलाई पत्ता लगाउन र पक्राउ गर्न सहज होस् भनेर सडकमा सीसी क्यामेरा राखिएका हुन्। ५६ वटा सीसी क्यामेरा जडान गर्दा नेपालगन्ज उद्योग वाणिज्य संघको ठूलो योगदान थियो। मर्मत गर्न भने उसले उदासिन देखाएको पाइएको छ।

नगरमा ५६ बाहेक प्रदेश सरकारले बाँकेको सबै नाकामा १३ वटा सीसी क्यामेरा जडान गरिदिएको छ। एसपी वलीले अझै एक दर्जन ठाउँमा सीसी क्यामेरा जडानको आवश्यकता रहेको छ। ती ठाउँहरूको पहिचान गरिसकिएको छ।

हिट एण्ड रनका घटनाका अभियुक्तलाई उम्किन नदिन बाँके प्रहरीले नम्बर प्लेट स्पष्ट बनाउने अभियान थाल्यो। ४ सय ६९ वटा सवारी साधनमा नयाँ नम्बर लेखाएको छ।

प्रतिक्रिया दिनुहोस्