विभिन्न घटनामा तीन पक्राउ



पर्वत, (नेस)। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको बाजुङबाट एक युवा पक्राउ परेका छन्। मोदी गाउँपालिका–५ बाजुङका प्रकाश विकलाई भैंसीगोठमा लगेर बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्रेको हो।

विकले असोज २५ गते ती बालिकालाई भैसीगोठमा लगेर बलात्कार भएको सूचना आएपछि प्रहरीले उनलाई तत्काल प्रकाउ गरेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो। प्रहरीले विकविरुद्ध करणीसम्बन्धी कसुरअन्तर्गत जबरजस्ती करणीमा मंगलबार पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।

यसै गरी लेनदेन मुद्दामा दोषी प्रमाणित भएका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्रेको छ। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका ३७ वर्षीय कृष्ण विश्वकर्मा भन्ने हिरालाल खातीलाई प्रहरीले पक्राउ गरेको छ। खातीलाई खोजतलासका क्रममा धाइरिङबाटै प्रक्राउ गरिएको थियो।

उनलाई पर्वत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। यसैबीच पर्वतको जलजला गाउँपालिका वडा नं ३ बाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन्।

जलजला गाउँपालिका ३ बगरफाँटका २१ वर्षीय सुवास घर्ती क्षेत्रीलाई अवैध लागूऔषध (गाँजा)सहित प्रहरीले घरबाटै पक्रेको हो। क्षेत्रीकोे घरकोठा तथा शरीर खानतलासी गर्दा निजको साथबाट लागूऔषध बरामद गरिएपछि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्