सहकारी रकम अपचलन- रकम फिर्ताको माग गर्दै अदालतअगाडि प्रदर्शन



नेपाल समाचारपत्र, बाँके।सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताले नेपालगन्जमा जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन्।३८ करोडबढी रकम अपचलन भएको सहकारीका अभियुक्तलाई अदालतमा उपस्थित गराउने सूचना पाएपछि बचतकर्ताले प्रदर्शन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको सहकारी कार्यालयअगाडि जम्मा भएका बचतकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाउँदै जिल्ला अदालतअगाडि पुगेका थिए। ‘हाम्रो पैसा फिर्ता देऊ, दोषीलाई कारबाही गर, छिटो न्याय देऊ’लगायतका प्लेकार्ड बोकेका बचतकर्ताले जिल्ला अदालतको मुख्य प्रवेशद्वारमा नाराबाजी गरेका थिए।

बचतकर्ताले गठन गरेको संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो।सहकारी रकम हिनामिनामा प्रहरीले ४३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। तीमध्येमा छ जना प्रहरी हिरासतमा रहेका छन्। करिब ३ महिनाको अनुसन्धानपछि प्रहरीले हिरासतमा रहेका ६ जनालाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

त्यसका लागि मंगलबार अदालतमा मिसिल पेस भएको छ। बुधबारदेखि थुनछेक बहस हुने आकलन गरिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी शिव सिंहले अदालतमा मिसिल पेस भएको र अब थुनछेक बहस हुने बताउनुभयो। प्रहरीले ६ जनालाई मात्रै पक्राउ गर्न सकेको छ। अरू फरार रहेका छन्। अधिकांश भारतमा गएर लुकेको प्रहरीको भनाइ छ।

नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा सञ्चालन गरेर धेरै जनाको रकम संकलन गरेको सहकारीका उच्च कर्मचारीले नै रकम हिनामिना गरेका थिए। आफ्नो पैसा फिर्ताका लागि नियमित आन्दोलन गरिरहेका बचतकर्ताले अदालतअगाडि प्रदर्शन गरेर दवाव बढाएका छन्।

संघर्ष समितिका संयोजक विजय गुप्ताले सहकारीका सञ्चालक र उच्च कर्मचारीले मिलेर बचतकर्ताको रकम हिनामिना गरेकाले छिटो भन्दा छिटो पैसा फिर्ता पाउनु पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्