महरालाई तीन दिन हिरासतमा राख्न अनुमति



 

नेपाल समाचारपत्र, काठमाडौं।जबरजस्ती करणी प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ।काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले मंगलबार महरालाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

महरामाथि आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीसमेत रहेकी रोशनी शाहीको जाहेरीपछि असोज १९ गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै महरा पक्राउ पर्नुभएको थियो। पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आउनुभएको छ। तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता उहाँनर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।

यस घटनामाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पक्राउ गरेको दिनदेखि लागू हुने गरी १३ दिन म्याद थप गर्न माग गरेको थियो। महरासँग बयान लिई थप अनुसन्धान गर्न समय अपुग भएको भन्दै सरकारी वकिलका तर्फबाट उमाकान्त पौडेलले तीन दिन हिरासतमा राख्न अनुमति दिनुपर्ने भन्दै बहस गर्नुभएको थियो।

अदालतको इजलास सोमबारसम्मका लागि बिदा रहेकाले मंगलबार म्याद थपका लागि महरालाई उपस्थित गराइएको थियो। प्रहरीले संकलन गरेको प्रमाणका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको इजलासले जनाएको छ। अस्पतालले डिस्चार्ज नगरेकाले उहाँलाई फेरि अस्पतालमै भर्ना गरिने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्