एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा सम्मेलन बहिष्कार

राजनीतिक ध्रुवीकरण बढेको गुनासो



न्युज अफ नेपाल, काठमाडौं।

काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् ।

संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको र अनावश्यक राजनीतिक हस्तक्षेप भएका कारण सम्मेलन बहिस्कार गरेको बुझिएको छ । ‘चुनाव नै गर्नु हुँदैन भन्ने मेरो भनाइ होइन’ महतोले भने, ‘यस पटक बढी नै हस्तक्षेप भएजस्तो लाग्यो ।’

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुनेमा जोड दिँदै आएका छन् ।

डा. महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिबेला आफूले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरे ।

होटल हायातमा शुरु भएको सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्