पारस खड्काले दिए नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । दश वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन् ।

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा राष्ट्रिय टोलीमा पारसले डेब्यू गरेका थिए । सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । उनले एसीसी टी–२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टी(ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टी(ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टी(ट्वान्टी दुवैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

साथै उनी टी–२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्