कालीगण्डकीमा शुरु भएन ‘नेपाली पानी जहाज’



दुर्गाप्रसाद शर्मा, पर्वत । 

कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) बर्षा याम सकिएपछि सुचारु हुन सकेको छैन ।
असोजको अन्तिम साता सम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज समेत भनेर चिनिने स्टिमर सेवा सुरु हुन नसकेको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अबरुद्ध छ । कालीगण्डकी ‘ए’ जलबिद्युत गृहको बाँधका ढोका खोलिएका छन भने बहाब समेत घटेको छैन । बहाब नघटे सम्म ढोका बन्द नहुने भएकाले स्टिमर चलाउन कठिन हुन्छ । लामो समय सम्म बर्षा भएका कारण बहान नघटेकाले स्टिमर सेवा सुचारु हुन नसकेको सेतीबेणीका ब्यबसायी रबि भट्टराईले बताउनुभयो । ‘बाँधको ढोका बन्द नहुँदा र बहाब नघट्दा सम्म स्टिमर सुचारु हुन सक्दैन’ उहाँले भन्नुभयो ‘कार्तिकको दोस्रो साता अघि सुचारु हुने संभावना देखिदैन’

जलाशयमा दैनिक रुपमा १३ वटा स्टिमर अहिले ठप्प बनेका छन् । ९ वटा स्टिमर राम्रो संग चलेपनि अरु स्टिमरलाई मर्मत गर्नुपर्ने अबस्था छ । स्टिमर सञ्चालन नहुँदा सबैभन्दा बढी समस्या सामान ढुवानीमा परेको छ भने यात्रुहरुलाई पनि घुमाउरो बाटो भएर जीपमा यात्रा गर्नुपर्ने अबस्था छ । अहिले स्याङ्गजाको वालिङ्ग र मिर्मीबाट समेत जीपमा सामान आयत गरिरहेको ब्यबसायी भट्टराईले बताउनुभो ।

गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ । विगत १८ वर्ष देखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि त्यस क्षेत्रका धेरै गाउँका बासिन्दाहरुले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन । स्टिमर सेवा वर्षातको समयमा भने ३ महिना अवरुद्ध हुने गरेको छ ।

दक्षिण पर्वतको विहादी गाउँपालिका स्थित वडा नं. ६ साविकको शालिग्राम गाविसदेखि स्याङजाको मिर्मि सम्म करिव आठ किलोमिटरको दुरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती झण्डै डेढ दर्जन साविकका गाविसबासी त्यस्तै गुल्मी र स्याङजाका गरी २५ भन्दा बढी गाविसवासीहरुलाई सहज रुपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका थिए । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यावसायीहरु भरिया र खच्चडबाट समेत महङ्गो शुल्कमा सामान ढुवानी गर्न वाध्य बनेको गुनासो गरेका छन् । यहाँको एक मात्र भरपर्दो यातयात सेवाको रुपमा सञ्चालित स्टिमरले उक्त क्षेत्रका वासीन्दाहरुको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।

वर्षायाममा असारदेखि असोज महिनासम्म पानीको बहाव बढि हुने भएकाले बन्द गरिने भएपनि ९ महिना निरन्तर रुपमा संचालन गरिदै आएको छ । एउटा स्टिमरमा एक सय देखि १ सय ५० जना सम्म यात्रुहरु एकैपटक ओहोरदोहोर गर्न मिल्छ । सेतीबेणीबाट जलयात्रा शुरु गरि मिर्मीमा पुगेर बस मार्फत यस क्षेत्रका बासिन्दाहरु गन्तब्यमा पुग्दै आएका छन् । स्टीमरबाट यात्रा गर्नेमा बढिजसो आन्तरिक पर्यटकनै रहेका छन् । ¥याफ्टीङ्ग जस्तै भएकाले बाह्य पर्यटकहरु समेत आउने गरेको वडा अध्यक्ष थापाले बताए ।
समाप्त असोज २८

प्रतिक्रिया दिनुहोस्