पोल्यान्ड र रुस युरोकपमा छनोट



लन्डन, (एजेन्सी)।युरोकप–२०२० छनोट चरणअन्तर्गत आइतबार राति भएका खेलमा जित्दै पोल्यान्ड र रुस छनोट भएका छन्।पोल्यान्ड समूह ‘एच’ मा खेल्न बाँकी रहेको दुई खेलअगावै युरोकपका लागि छनोट भयो।

नर्थ मेसेडोनियालाई २–० गोलअन्तरले पराजित गर्दै पोल्यान्डले युरोकपको ढोका खोलेको हो। समूहमा पोल्यान्डले ८ खेलबाट १९ अंक जोड्दै युरोकपमा चुनौती प्रस्तुत गर्ने निश्चित गरेको हो।

पोल्यान्डको जितमा फ्रान्कोवस्की र मिलिकले दोस्रो हाफमा गोल गरेका थिए। दुवै गोल कप्तान रोवर्ट लेवान्डोस्कीको पासमा भएका थिए। खेलको ७४औं फ्रान्कोवस्कीले गोल गर्दै पोल्यान्डलाई ढिलो अग्रता दिलाएका थिए।

त्यस्तै ८०औं मिनेटमा मिलिकले गोल गर्दै पोल्यान्डको जित सुनिश्चित गरे।
यसै समूहको अर्को खेलमा १० जनामा सीमित अस्ट्रियाले स्लोभेनियालाई १–० ले हरायो। उक्त जितसँगै दोस्रो स्थानको अस्ट्रियाको ८ खेलबाट १६ अंक छ भने नर्थ मेसेडोनिया ११ अंकसहित तेस्रो स्थानमा रहेको छ।

त्यस्तै रुसले पनि साइप्रसलाई ५–० ले हराउँदै अर्काे वर्ष आयोजना हुने युरोकपमा स्थान पक्का गरेको छ। समूह ‘आई’ को खेलमा रुसले १० खेलाडीमा सीमित साइप्रसमाथि फराकिलो जित निकाल्दा डेनिस चेरेसेभले दुई तथा मागोमेड ओजदोइभ, अर्टिम ज्युभा र एलेकसन्दार गोलोभिनले समान एक–एक गोल गरे।

चेरसेभले नवांै मिनेटमा गोल गर्दै रुसलाई शुरुआती अग्रता दिलाएका थिए। ओजदोइभले २२औं मिनेटमा रुसको अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले अघि बढेको रुसले दोस्रो हाफमा थप तीन गोल थप्यो।

ज्युभाले ७९औं मिनेटमा रुसका लागि तेस्रो गोल गरे। गोलोभिनले ८९औं मिनेटमा रुसलाई ४–० ले अघि बढाए। इन्ज्युरी समयमा चेरसेभले व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ५–० को फराकिलो जित दिलाए।

दुई खेल बाँकी रहँदा रुसले समूह ‘आई’ मा तेस्रो स्थानको साइप्रससँग ११ अंकको अग्रता लियो। रुसले ८ खेलबाट २१ अंक जोड्यो।

शीर्ष स्थानको बेल्जियमले २४ अंक बटुलेको छ। साइप्रस १० अंकसहित तेस्रो स्थानमा रह्यो। यसअघि बेल्जियम र इटालीले युरोकपको टिकट पक्का गरेको थियो।

वेल्स र क्रोएसिया बराबरीमा

युरोकप छनोट खेलमा वेल्स र क्रोएसियाले १–१ गोलको बराबरीमा चित्त बुझाएका छन्। गेरेथ बेलले गरेको गोलको सहयोगमा वेल्सले क्रोएसियालाई १–१ को बराबरीमा रोक्न सफल भएको हो।

क्रोएसियाका लागि भने खेलको नवांै मिनेटमा निकोला भ्लासिकले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए।बराबरीसँगै क्रोएसिया ७ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा रहेको छ।

वेल्सले ८ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा रहँदै छनोट हुने सम्भावनालाई जीवितै राखेको छ। यसै समूहको अर्काे खेलमा हंगेरीले अजरबैजानलाई १–० ले पराजित गर्यो। हंगेरी १२ अंक जोडेर दोस्रो स्थानमा छ।

स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा अजरबैजान १ अंकसहित पुछारमा छ।त्यस्तै समूह ‘सी’ को खेलमा जर्मनीले इस्टोनियालाई ३–० ले पराजित गर्दै ६ खेलबाट १५ अंक जोडेको छ। खेलको १४औं मिनेटमा इम्रे क्यानले रातोकार्ड देखेपछि जर्मनी १० खेलाडीमा खुम्चिएको थियो।

यसले पहिलो हाफमा जर्मनीले गोल गर्न सफल भएन। तर, खेलको ५१औं र ५७औं मिनेटमा गुन्डोगनले दुई गोल गर्दै जर्मनीलाई २–० को अग्रतामा राखेका थिए।७१औं मिनेटमा टिमो वेर्नरले तेस्रो गोल थपे।

यो समूहमा समान खेलबाट १५ जोडेका नेदरल्यान्ड्स भने गोल भिन्नताको आधारमा समूहको शीर्ष स्थानमा छ। नेदरल्यान्ड्सले बेलारुसलाई २–१ ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्