नेताहरूको जवानी



शीर्षक पढेर पाठकले कृष्णबहादुर महरालाई सम्झिनुभयो होला, हो ? यदि हो भने तपाईं आंशिक मात्र सही हुनुहुनुहुन्छ। किनभने शीर्षकमा ‘नेताहरू’ भनिएको छ, महरालाई मात्र सम्बोधन गर्दा ‘हरू’ भन्नुको के खाँचो !

महराले ६५ वर्षको उमेरमा ‘हिमालयन’ पिएर जवानी देखाए भन्दै उहाँसँग सम्बद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चर्चा उचाइमा पुगिरहेका बेला नेपाली कांग्रेस पार्टीका सांसद अफताब आलमले प्रमुख प्रतिपक्षी दलको इज्जत जोगाएका छन्।

हुन त सबैभन्दा पुरानो दल नेकाका नेता आलमले नागरिकको ज्यान जाने गरी गराएको भनिएको विस्फोटन पनि पुरानै हो, १२ वर्षअघिको, यद्यपि उहाँले चर्चित बन्ने अवसरचाहिँ महरा सँगसँगै पाउनुभएको छ। जेहोस्, ढिलो भए पनि उहाँ बधाईका पात्र हुनुहुन्छ।

ठूला दलहरूले जवानी देखाइरहेका बेला साना दल यदाकदा निरीह देखिन्छन्, तर यसपटक इज्जत जोगाइदिनुभएको छ राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले। माननीय शाहले सोमबार मात्र जनकपुरस्थित विमानस्थलमा भीआईपी कक्ष नै भत्काइदिनुभयो।

‘त्यहाँ रहेको बुद्ध एयरको कार्यालको टेबुलमा तीन/चार लात बजारेकै हुँ।’ –उहाँले विनीत भावका कारण लात्तीको परिमाण केही घटाएर स्पष्टोक्ति दिनुभएको छ।
शाह, आलम र महराले देखाउनुभएको जवानी हेर्दा वास्तवमै गौरवको अनुभूति हुन्छ।

फेरि संयोग हेर्नुस् त– कति राम्रो सामाजिक समावेशिता ⁄ पहाड–तराई, हिन्दू–मस्लिम, जुंगा पालेका काटेका, कपाल झ्याप्प भएका र तालु खुइलेका– सबै तह र तप्काको योगदान छ यस जवानीको प्रदर्शनमा। क्याबात नेतागण !

प्रतिक्रिया दिनुहोस्