गल्तीवश थुनिएकालाई ४८ लाख डलर क्षतिपूर्ति



सिड्नी, (एजेन्सी)। एक जना वरिष्ठ अस्ट्रेलियाली प्रहरी अधिकारीको हत्याको आरोपमा गल्तीवश १९ वर्ष कारावासमा थुनिएका एक पुरुषलाई ४८ लाख अमेरिकी डलर क्षतिपूर्ति दिइएको छ। ६ वर्षअघि अस्ट्रेलियाली संघीय प्रहरी सहायक कमिस्नर कोलिन विन्चेस्टरको हत्या गरेको अभियोगमा डेविड इस्टम्यानलाई सन् १९९५ मा आजीवन कारवास सुनाइएको थियो।

त्यसपछि अन्यायपूर्ण मुद्दा चलाइएको भन्दै अदालतले उनलाई रिहा गर्ने निर्णय दिएको थियो। तर, गत वर्षको दोस्रो मुद्दाको दौरान मात्र उनलाई कारागारमुक्त गरिएको हो। विन्चेस्टरको हत्याकाण्ड अझैसम्म सुल्झिएको छैन।

उनको हत्याका कारण ठूलो कानुनी र राजनीतिक विवाद उठेको थियो। यस हत्याकाण्डको सवालमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो आपराधिक अनुसन्धान भएको मानिन्छ।शुरूमा ७४ वर्षीय इस्टम्यानले अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी) सरकारले दिने भनेको क्षतिपूर्ति नलिने बताएका छन्।

एसिटिको सर्वोच्च अदालतले कारावासका कारण उनको करियर बनाउने र परिवारसँग बस्ने अवसर गुमेको जनाएको छ। उनकौ कैदी जीवनकै दौरान उनका आमा र दुई भाइको मृत्यु भएको थियो। अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित आफ्नै निवास बाहिर विनचेस्टरको टाउकोमा दुईपटक गोली हानिएको थियो।

उनी अस्ट्रेलियामा मारिने अहिलेसम्मकै सबैभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी भएको बताइएको छ। सरकारी नोकरीमा लागेका इस्टम्यानलाई विगतको एउटा आपराधिक घटनालाई लिएर प्रहरीलाई धम्की दिएकै आधारमा यस हत्याकाण्डलाई लिएर गिरफ्तार गरिएको थियो।

उनले सन् १९९९, २०००, २००१, २००५ र २००८ मा गरेको अपिल अदालतले अस्वीकार गरेको थियो। तर, सन् २०१४ को सुनुवाइको दौरान प्रहरीले पेस गरेका उनीविरुद्धका प्रमाण बलियो र यथेष्ट नभएको जनाउँदै उनलाई रिहा गर्ने घोषणा गरिएको थियो। गतवर्षको इस्टम्यानलाई अन्ततः रिहा नै गर्ने अदालती कारबाहीको दौरान १ सय जनाभन्दा बढी साक्षी अदालतमा पेस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्