“दुरबिन”बाट स्त्री रोगको उपचार



 

डा. रंगिना लाइकङबम शाह इस्डोस्कोपिक तथा गाइनोकोलोजिस्ट विशेषज्ञसँग नेपाल समाचारपत्रका लागि मोतीराम तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :
जन्म, बाल्यकाल, औपचारिक शिक्षा

भारतको मणिपुरमा मेरो जन्म भयो। कक्षा ७ सम्म मणिपुरमै अध्ययन गरें। चेन्नईको त्रिवेणी एकेडेमीबाट कक्षा ८ देखि १० सम्म अध्ययन गरें। विद्यालयको अनुशासन अत्यन्तै कडा भएकाले ६ महिनामा मात्र एक पटक बाहिर निस्कन पाइन्थ्यो। त्यसपछि भारतको राजस्थानमा रहेको टप विश्वविद्यालयमा कक्षा ११ र १२ अध्ययन गरें।

एमडीको पढाइ कडा थियो। सहयोग खासै भएन। अग्रजहरूले हामीलाई एकोहोरो जोताउनुहुन्थ्यो। ७ बजे भनेपछि त्यही समय पुगेन भने बाहिरै बस्नुपर्दथ्यो। डाक्टरको उपाधि लिएर पनि कठिन भयो। अध्ययन सकेर काठमाडौं फर्कंदा पनि खुसी हुन सकिन। प्रतिस्पर्धाभन्दा पनि आफ्नो मान्छेहरूले मात्रै राम्रो काम पाउँदा रहेछन् भन्ने थाहा पाएँ। ठूलो ठूलो अस्पतालमा ट्राई गरें, काम पाउन सकिनँ।

मेडिकल क्षेत्रमा आउन धेरै स्थानमा परीक्षा दिएँ तर सम्भव भएन। अन्तिममा नेपालको कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनमा रहेको क्याम्पसमा मैले मेडिकल क्षेत्रको अध्ययन गर्ने अवसर पाएँ। नेपालमा इन्टर्नसिप गरिसकेपछि केही समयका लागि भारत नै फर्किएँ।ब्रिटिसको अस्पताल सिलङ्गमा गएर काम गरें।

फेरि नेपालमै फर्किएर आएँ। काठमाडौं मेडिकल कलेजमा केही समय काम गरें। एमडी अध्ययनका लागि फेरि भर्ना गरें। एमबीबीएस अध्ययन गरेकै कलेजमा तीन वर्षे अध्ययन सकाएँ। त्यहाँबाट स्त्री रोग विशेषज्ञको उपाधि प्राप्त गरें। फेरि म काठमाडौं फर्किएँ। लक्ष्य र काममा सन्तुष्ट हुन सकिनँ।

थुप्रै स्थानमा अध्ययनका लागि खोजी गरें। दुरबिनको माध्यमबाट हुने उपचारको अध्ययनका लागि विश्वका विभिन्न क्याम्पसहरूको खोजी गरें। विश्वमै पहिलो पटक उक्त माध्यमबाट उपचार शुरू गर्ने देश जर्मनको विश्वविद्यालयमा अध्ययन गर्ने योजना बनाएँ। जीवनको लक्ष्य पूरा गर्न मैले थप डिग्री जर्मनकोे विश्वविद्यालयबाट लिएर नेपाल फर्किएँ।

तीन दिदीबहिनी र एक दाजु हुनुहुन्थ्यो म कान्छो सन्तान थिएँ। सन् १९८२ मा मेरो जन्म भयो। मेरो परिवार सबै शिक्षित थियो। छोरा छोरीमा फरक थिएन। दाजुलाई जुन विद्यालयमा पढाउनुभयो हामी छोरीहरूलाई पनि त्यही विद्यालयमा पढाउनुभयो।

पेट चिर्न नपर्ने, चाँडै घाउ निको हुने, २४ घन्टामै घर जान सक्ने अवस्थाको अप्रेसन रहेछ। त्यही बेला ममीको अप्रेसनमा प्रयोग गरिएको प्रविधि प्रयोग गर्न सक्ने हैसियतको डाक्टर बन्ने लक्ष्य पटक पटकका अवरोध र अल्झनबाट रोक्न सकेन। लक्ष्य लियो भने एक दिन अवश्य सफल हुन सकिन्छ भन्ने कुरा मेरै जीवनबाट पुष्टि भएको छ।

म जहाँ छु त्यो सबै मेरा बुबा–आमाको देन हो। राम्रा राम्रा विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्ने अवसर दिनुभयो। अहिले पनि मलाई बाल्यकाल, बाल्यकालका स्मरणहरू, विद्यालयका गतिविधिप्रति याद आइरहन्छ। मेरो परिवारमा धेरै जना डाक्टर हुनुहुन्छ।

कक्षा ५ अध्ययन गर्दा नै मैले लेखेको निबन्धमा स्त्री रोगसम्बन्धी डाक्टर बन्छु भनेर लेखेको थिएँ। मेरो कक्षाको मिसले नै किन डाक्टरभित्रको स्त्री रोगको भनेर सोध्नुभएको थियो। पटक पटक अरू विधामा नाम निस्किए पनि म गइनँ। शुरूदेखिकै लक्ष्य त्यही थियो र सपना पनि पूरा गरें। स्त्री रोग विशेषज्ञ नै बन्नुको धेरै कारण छन्। ममी धेरै बिरामी हुनुहुन्थ्यो।

उहाँसँग म साथमै जान्थें। उहाँलाई पाठेघरको समस्या रहेछ। हरेक समय उहाँलाई त्यही कारण संकट आइलाग्थ्यो। कक्षा १० मा पुगेको बेला आमाको पाठेघरको अप्रेसन भएको थियो। मा १५ वर्षको थिएँ। अप्रेसनका बारेमा पनि थाहा थिएन।

त्यतिबेला दुरबिनबाट अप्रेसन गरिएको थियो। मैले डाक्टरलाई कसरी गर्ने हो अप्रेसन भनेर सोधेको थिएँ। डाक्टरले मलाई दुरबिनबाट गरिने अप्रेसनका बारेमा बताउनुभएको थियो।पेट चिर्न नपर्ने, चाँडै घाउ निको हुने, २४ घन्टामै घर जान सक्ने अवस्थाको अप्रेसन रहेछ।

त्यही बेला ममीको अप्रेसनमा प्रयोग गरिएको प्रविधि प्रयोग गर्न सक्ने हैसियतको डाक्टर बन्ने लक्ष्य पटक पटकका अवरोध र अल्झनबाट रोक्न सकेन। लक्ष्य लियो भने एक दिन अवश्य सफल हुन सकिन्छ भन्ने कुरा मेरै जीवनबाट पुष्टि भएको छ।एक दिन खेलेर बसेको समयमा बुबाले हामीलाई सम्झाउनुभएको थियो।

बाल्यकालको बुबाको निर्देशनले मलाई जीवनमा नयाँ खालको उन्नति र प्रगति भयो। अध्ययन राम्रोसँग गर्नुपर्छ त्यसपछि मात्रै भविष्य राम्रो हुन्छ भन्ने उहाँको बुझाइ थियो। म राम्रो नाच्थें। संगीतमा पनि प्रतिस्पर्धा गर्थें। हरेक काममा मेरो आत्मबल थियो।

नेपालमा एसएलसी भने जस्तै भारतमा सीबीएसी बोर्ड परीक्षा थियो। त्योभन्दा केही समयअघि म धेरै बिरामी भएँ। धेरैले मलाई एक वर्ष छाडेर अर्काे वर्ष परीक्षा दिन भन्नुभएको थियो।
एपोलो अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरले पनि मलाई तत्काल भर्ना गर्नुपर्ने र अप्रेसन गर्नुपर्ने सल्लाह दिनुभएको थियो।

अस्पतालमा उपचार गराई फर्किएर पनि मैले परीक्षा दिन सकें। मेरो हिम्मतका कारण एक वर्ष कुरिनँ। सानैदेखिको त्यो आत्मबलले मलाई सहयोग नै गरिरह्यो। जस्तो परिणाम आउनुपथ्र्याे त्यो त सम्भव भएन। तर विगतका मेरा प्रमाणपत्रका आधारमा मलाई विश्वविद्यालयले भर्ना लियो।

त्यो परीक्षाको प्रमाणपत्रले मात्रैै म भर्ना हुन अयोग्य थिएँ। अन्तर्वार्तामा पास भएँ तर प्रमाणपत्रले मलाई भर्ना हुन रोक्यो। मैले साइन्स अध्ययन गर्ने योजना बनाएर अन्तर्वार्ता दिएको थिएँ। आर्टस् वा कर्मस् लिएर अध्ययन गर्न सम्भव छ तर साइन्स सम्भव छैन भन्नुभयो। म साइन्स अध्ययन गरेर डाक्टर बन्ने सपना बोकेको व्यक्तिलाई त्यो कुराले पिन्च गर्यो।विश्वविद्यालयको म्यामलाई मैले साइन्स अध्ययन गर्ने सपना र विगतको अध्ययनको अवस्था र त्यो परीक्षामा कम नम्बर आउनुका बारेमा बताएँ।

उहाँलाई त्यो कुरामा कन्भिस गराउन सकें।अहिले पनि उहाँसँग मेरो फेसबुक मार्फत भेटघाट हुन्छ। उहाँ अहिले सम्झनुहुन्छ त्यो बेला मलाई कन्भिस गर्न सक्ने साहस भएको विद्यार्थी केही गर्न सक्छौ भन्ने विश्वास भयो। कक्षा ११ र १२ उत्र्तीण गरेपछि एमबीबीएस अध्ययनको तयारी गरें।

मणिपुरमा जन्मिए पनि मैले त्यहाँबाट प्रतिस्पर्धा गर्न सम्भव भएन। मेरो जीवनका हरेक क्षेत्रमा रोकावट थियो। अल इन्डियाका तर्फबाट मैले प्रतिस्पर्धा गरें, सम्भव भएन। त्यसपछि नजिक रहेको नेपालमा ट्राइ गरें। १९ वर्षअघि नेपाल आएर मैले प्रतिस्पर्धा गरें नाम निस्कियो।

एयरपोर्टमा आएर गाडीमा हामी चितवन गएका थियौं। भाषा पनि आउँदैन थियो। कहिल्यै नेपाल आएको थिइनँ। मेरो बाबासँग सन् २००० सालमा नेपाल आएको थिएँ र मलाई विश्वास थियो। शुरू शुरूमा भएका समस्यालाई समाधान गर्दै आएँ। भारतमा नाम निकाल्न नसकेपछि नेपालमा केही गर्न सक्छु भन्ने आत्मविश्वास थियो।

भारतमा पनि नेपाली साथीहरू धेरै थिए। भरतपुरमा छात्रावास जंगलभित्रै थियो। बजार जाने बेला सामानको नाम भन्न भाषा आउँदैन थियो। एमबीबीएस सकाउने बेलासम्म पनि नेपाली भाषा सिकिनँ। जब नेपालमै विवाह भयो तब मात्रै मैले नेपाली भएको महसुस गरें र भाषा सिकें।

समय धेरै पढाइमा दिनुपर्दथ्यो। बाहिरको जीवनका बारेमा पनि कम थाहा हुन्थ्यो। एमबीबीएसको अध्ययनसँगै इन्टर्नसिप गरेर भारत फर्किएपछि सिलङ्गमा स्त्री रोग विशेषज्ञकै रूपमा काम गर्न थालें र ७ महिना काम गरें। भारत र नेपालमा आम्दानी धेरै फरक छ।

नेपालमा मेडिकल अफिसर बनेर काम गर्दा समेत अध्ययनका लागि रकम पुग्दैन थियो। बीचमा मन पनि परिवर्तन भयो। नेपाल र भारतमा भन्दा यूएसमा बस्छु भन्ने लाग्न थालेको थियो। तर पनि मेरो मन नेपालमै फर्कियो।

नेपालमै परीक्षा दिएँ। नाम निस्कियो। आफ्नो चाहनाभन्दा फरक विषयमा नाम निस्किएका कारण दुई वर्ष त्यसै रहें। काठमाडौं विश्वविद्यालयअन्तर्गत दिएको स्त्री रोग विशेषज्ञमा नाम निस्कियो। त्यसपछि फेरि अध्ययन गरें।

अध्ययन र काम

एमडीको पढाइ कडा थियो। सहयोग खासै भएन। अग्रजहरूले हामीलाई एकोहोरो जोताउनुहुन्थ्यो। ७ बजे भनेपछि त्यही समय पुगेन भने बाहिरै बस्नुपर्दथ्यो। डाक्टरको उपाधि लिएर पनि कठिन भयो। अध्ययन सकेर काठमाडौं फर्कंदा पनि खुसी हुन सकिनँ। प्रतिस्पर्धाभन्दा पनि आफ्नो मान्छेले मात्रै राम्रो काम पाउँदा रहेछन् भन्ने थाहा पाएँ।

ठूलो ठूलो अस्पतालमा ट्राइ गरें, काम पाउन सकिनँ। प्रसूति गृहमा ७ महिना काम गरें। त्यहाँ धेरै कुरा सिक्न पाएँ। काम गरे पनि म लक्ष्यअनुसारको काममा छैन भन्ने लागिरहेकोे थियो। भइरहेको प्रविधि र उपचारसँग मेरोे सन्तुष्टि थिएन। त्यहाँ सन्तुष्ट हुन नसकेपछि काम छाडें। फेरि केही समय खाली रहें।

दुई वर्ष भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा काम गरें। त्यहाँ कमाएको केही रकम जम्मा गरें। त्यही जम्मा गरेको रकम जोगाएर जर्मनमा अध्ययन गर्न गएँ। मलाई कुनै पनि हालतमा दुरबिनबाट उपचार गराउने विषयमा विज्ञ बन्नुथियो। उमेरमा कमाएको रकम गलत स्थानमा खर्च गरिनँ। आफ्ना सबै चाहनाहरू दबाएर राखें।

राम्रो कामका लागि आफ्नो खुट्टामा आफै उभिनुपर्यो। सिद्धि मेमोरियल अस्पतालबाट अर्काे अस्पतालमा काम गर्न थालें। जर्मनको विश्वविद्यालयमा अध्ययन गर्न जान थुप्रै पैसा लाग्थ्यो। शुरूमा झस्किएँ। तर पनि हार मानिनँ। निरन्तर म सक्रियरूपमा लागिरहें।

जर्मनमा डिप्लोमा डिग्री लिएर फर्किंदा खुसीले गदगद भएँ। त्यहाँ अध्ययन गर्ने नेपाली म मात्रै थिएँ। नेपाल फर्किएपछि जहाँ पनि काम पाइन्छ होला भन्ने सोच थियो, त्यो होइन रहेछ। धेरै अस्पतालमा गएँ। आवेदन गरें। कसैले रेस्पोन्स गरेन। गर्यो भने पनि मेरोे सपना र भावना विपरीत थियो।

देशको लागि राम्रो सेवा दिन्छु भन्दा पनि पाइनँ। मलाई फ्रस्टेसन भयो। नेपाल बस्दिनँ भनेर मन बनाइसकेको थिएँ। जावलाखेलको अल्का अस्पतालमा पुगेको थिएँ। दुरबिनबाट उपचार गर्ने प्रविधि मैले शुरू गरेको थिएँ। दुरबिनबाट गर्ने उपचारका बारेमा बताएँ। आमाको उपचारदेखि नै मलाई जानकारी थियो।

बिरामीहरूले हाम्रो कुरामा विश्वास गर्नै मानेनन्। शुरू शुरूमा मन धेरै दुख्यो। चित्त पनि दुख्यो। पेट चिरेर गर्ने अप्रेसनचाहिँ राम्रो हो भनेर भन्नुहुन्थ्यो। दुरबिनबाट गर्ने अप्रेसनका लागि थोरै डाक्टर हुनुुहुन्छ।

विश्वमा महिलाहरूको उपचार र अप्रेसन कसरी भइरहेको छ? त्यो हेर्नुपर्छ। अरू देशको जस्तो अप्रेसन हामी गर्न सक्दैनौं। अल्का अस्पतालको शुरूआतीमा संर्घष नै भयो। बिरामी जम्मा गर्यो १०/१५ जनामा ३/४ जनाको मात्रै दुरबिनबाट अप्रेसन हुन्थ्यो। त्यसपछि मैले मेरो असिस्टेन्ट राखेर फलो गराइरहेको छु।

फलो गर्यो भने महिलाहरूलाई झनै शंका हुने रहेछ। बिरामीको नियमित फलो गर्नु डाक्टरको कर्तव्य हो। जुन कुरा मैले विदेशमा सिकेको थिएँ। बिरामीको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिनु, उपचार अघि र उपचारपछिका बारेमा बुझ्नु आवश्यक पर्छ।

उपकरण र उपकरणको खर्च महँगोे थियो। बिरामीहरूलाई कम मूल्यमा कसरी उपचार गराउन सकिन्छ भनेर धेरै स्थानमा अध्ययन गरें। भारतका विभिन्न स्थानमा तालिम पनि लिएँ। बिरामीलाई यो उपचारका बारेमा बुझाउनै कठिन थियो। पेट चिराउँदा मात्रै ठीक हुन्छ भन्ने भ्रम हटाउन सकिएको छैन।

घरमा राख्ने फोन र मोबाइलमा कति फरक छ? मेडिकल क्षेत्र हरेक दिन विकास भइरहेको छ। दुरबिनबाट अप्रेसन गर्दा पूर्णरूपमा अप्रेसन सफल हुँदैन भन्ने भ्रम फैलाइएको छ। संसार तीव्र गतिमा बढिरहेको छ। हाम्रो सोच अगाडि बढ्न सकेको छैन। नेपालका लागि नयाँ हो संसारका लागि नयाँ होइन। नेपालका डाक्टरहरूले यो विषयमा अध्ययन गर्नु भएन अलग कुरा हो।

प्रविधिका बारेमा बुझाउन नसक्दा अमेरिका जान प्लेन हैन बसमा जान्छु भने जस्तै भएको छ। प्रविधिका बारेमा इन्टरनेटमार्फत हेर्न सकिन्छ। यस्तो अवस्थामा प्रविधिको विश्वास गर्नुको विकल्प छैन। स्त्री रोगसम्बन्धी बच्चा पाउन र बच्चा तलबाट नभएर पेटबाट निकाल्नुपर्यो भने बाहेक सबै खालका उपचार यो विधिबाट हुन्छ।

पाठेघरको समस्या, बच्चा बस्न नसकेर भएको समस्या तथा अन्य विविध समस्याको उपचार यही प्रविधिबाटै हुन्छ। पैसाका हिसाबले केही महँगो छ। पेट चिरेर गर्ने अप्रेसन र यो प्रविधिमा थोरै महँगो हुनु स्वाभाविक हो। त्यो खर्च कम गर्न हामीले एकै पटक ३ जनाको अप्रेसन गर्छौं।

खर्च कम गर्न बिरामीहरूको अवस्थालाई समेत हेरेर पेट चिरेरै हुने खर्च जस्तै गरी व्यवस्थापन गरिरहेका छौं। एक पटक अप्रेसन गरेर गएपछि उहाँहरूकै माध्यमबाट थप बिरामीहरू उपचारमा सहभागी भइरहनुभएको छ। आँप नै नखाने व्यक्तिलाई त्यसको स्वाद कसरी थाहा हुन्छ र?

खुला अप्रेसन घाउ बनाएर गरिन्छ। ट्युमरको साइजअनुसार घाउ बनाउनुपर्छ। दुरबिनको माध्यमबाट उपचार गराउँदा एक सेन्टिमिटरबाट क्यामेरा पसाएर उपचार गराइन्छ। त्यो सबै टिभीको स्क्रिनमा देखिन्छ। त्यसका आधारमा दुईवटा वा तीनवटा सम्म प्वाल पारिन्छ। त्यही प्वालबाट अप्रेसन गरिन्छ। रगतको धेरै खर्च हुँदैन। इन्फेक्सन हुने सम्भावना हुँदैन।

दुखाइ कम हुन्छ। घाउ चाँडै रिकभर हुन्छ। हाई इनर्जी सोर्सबाट अप्रेसन गरिन्छ। रगतको नलीलाई क्षति नपुर्याई अप्रेसन गरिन्छ। व्यक्तिको सुरक्षामा समेत यसले प्रत्याभूति हुन्छ। यसबाट थुप्रै फाइदा हुन्छ।

प्रेम र विवाह

विद्यालय जीवनमा प्रेम प्रस्ताव आएन र गरिनँ पनि। नेपालमा अध्ययनका क्रममा जब भरतपुर आएँ त्यही अध्ययन गरिरहँदा प्रस्ताव आयो। प्रेम प्रस्तावलाई स्विकारें। अध्ययन सकेर पुनः भारत फर्किएँ तर पनि प्रेम रोकिएन। ७ महिना भारतमा काम गरेर विवाहपछि पुनः नेपाल फर्किएँ।

डेड वर्षे प्रेमलाई मागी विवाहमा परिणत गर्यौं। भारतमा हामी क्षेत्री समुदायका हौं। मेरो प्रेमी अर्थात् अहिलेका श्रीमान् शाह परिवारको हुनुुहुन्छ। दुवै परिवारको सहमतिमा हाम्रो विवाह भएको थियो। विवाहपछि मलाई श्रीमान्ले मेरो लक्ष्यमा पुग्न सहयोग पुर्याउनुभयो। मेरो संर्घषमा उहाँ र उहाँको परिवारले सहयोग पुर्यायो।

भाषाका हिसाबले मलाई केही कठिन भयो। संस्कृतिलगायतमा पनि शुरूमा असहज भयो। विस्तारै सहज भयो। कहिलेकाहीं सामान्य विषयमा मनमुटाव हुन्छ तर बोलचाल नै नभएको छैन। समय व्यवस्थापन गर्न नसक्दा गुनासो रहन्छ। उहाँ बैंकर हुनुहुन्छ। म मेडिकल क्षेत्रमा क्रियाशील छु।

घरलाई पुरै समय दिन सक्दिनँ। इमर्जेन्सी, अप्रेसन तथा नियमित कामका कारण समय मिल्दैन। बिरामी, बिरामी भन्दा भन्दै आफ्नो र घर परिवारका लागि कहिले समय दिने? उहाँहरूको गुनासो छ। बिरामी खुसी हुँदा मन खुसी हुन्छ। बिरामीले गाली गर्दै निस्कँदा मन दुख्छ। हामीले अहिलेसम्म सन्तानको तयारी गरेका छैनौं। अध्ययन र कामको संर्घषले त्यो तयारी गरेनौं।

अविस्मरणीय क्षण

अध्ययन सकेर भारत फर्किएको केही समयमै दुर्घटनामा परें। ट्रकको दुर्घटनामा परेर मैले नयाँ जीवनको शुरूआत तत्काल हुन्छ भन्ने सोचेको थिइनँ। आत्मबलबाट म चाँडै निको भएँ। पुनः काममा फर्कन सकें। जुन क्षेत्रमा छु त्यहाँ आत्मबलले काम गर्छु। पैसाका लागि भन्दा पनि सेवाका लागि काम गरिरहेको छु। दामका लागि हैन नामका लागि काम गर्छु।
(हाल कार्यरत संस्थाः ब्लु क्रस अस्पताल र कान्तिपुर अस्पताल)

 

प्रतिक्रिया दिनुहोस्