समुदाय र बालिकालाई हेल्प नेपालमा ई-लाईब्रेरी



मोतीराम तिमल्सिना, काभ्रे ।

हेल्प नेपाल नेटवर्क धुलिखेलमा बालिकाहरु र समुदायका लागि उपयोग हुने गरी इलाईब्रेरी शुरुवात गरिएको छ । लाईब्रेरीको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ ।

इलाईब्रेरीमा ८ वटा कम्प्युटर राखिएको छ । जसबाट बालिकाहरुले कक्षा १ देखि १० सम्मका पाठ्यक्रमहरुको अध्ययनका लागि सहयोगि सामाग्रीका रुपमा प्रयोगमा ल्याउन सक्नेछन् भने बालिका र समुदायले आफै कम्प्युटर चलाउन जान्ने कम्प्युटर मास्टर राखिएको छ ।

कम्प्युटर चलाउन आफै सिकाउने गरी सफ्टवेयर राखिएको छ । विकिमिडिया, आर्ट, विज्ञानका सामाग्रीहरु पनि उक्त लाईब्रेरीमा समावेश गरिएको छ । अनलाईन हुँदा र नहुँदा पनि चलाउन सकिने सफटवेयरहरु राखिएको छ । डाक्टर नभएको बेला प्राथमिक उपचार गर्न सहज हुने गरी सिकाई विधि राखिएको छ । समुदायले सामान्य अक्षर चिनेर कम्प्युटर चलाउँदा उक्त विधिका बारेमा जान्न सक्नेछन् । समुदायमा रहेका महिलाहरु गर्भवती हुँदा के गर्ने र के नगर्ने ? त्यस्ता विषयहरु पनि उक्त लाईब्रेरीबाट जानकारी लिन सकिनेछ ।

शब्दकोशलाई अंग्रेजी र नेपाली दुबै भाषामा अनुवाद गरिएको छ । नेपालको कला र संस्कृति समेत समेटिएको उक्त सफट्वेयर सबैका लागि आवश्यक हुने बताईएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अशोक ब्याञ्जुले बालबालिकाहरुको सिकाईका लागि प्रयोगमा ल्याईएको उक्त सफ्टवेयर समुदायले पनि प्रयोग गरी फाईदा लिन सक्ने बताउनु भयो । धुलिखेल नगरपालिका बालमैत्री नगर बन्दै गरेको बताउँदै बालमैत्री नगरका लागि आवश्यक पर्ने पूर्वाधारहरुका लागि कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । हेल्प नेपाल नेटवर्क धुलिखेलको अक्षयकोषलाई २ लाख रुपैया उपलब्ध गराउने, बालिकाहरुलाई उच्च शिक्षाका लागि निशुल्क अध्ययनको ब्यवस्थापन गर्ने र नगरपालिकाले उपलब्ध गराउने १६ प्रकारका तालिमहरुमा सहभागि गराई अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन सहयोग पु¥याउने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

नगरपालिका निमुखा ब्यक्तिहरुका लागि भएकाले गरिवी निवारणमा विशेष ध्यान दिने ब्याञ्जुले बताउनु भयो । २०७१ साल भदौ ८ गते १० बालिकाबाट शुरुवात गरिएको हेल्प नेपाल नेटवर्कमा अहिले २१ जना सिमान्तकृत सहित विपन्न बालिकाहरु राखिएको छ । उक्त नेटवर्कलाई विभिन्न क्षेत्रबाट सहयोग उपलब्ध हुँदै आएको छ । नेटवर्कको निरन्तरताका लागि अक्षयकोष शुरुवात गरिएको धुलिखेलका अध्यक्ष पूर्णकुमार कार्कीले बताउनु भयो । अक्षयकोषमा ७ लाख रुपैया जम्मा भईसकेको छ ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्क अष्टे«लियाका अध्यक्ष हस्त गौतम, नेपाल अध्यक्ष अरुण सिं बस्नेत, रविन्द्र मिश्र, धुलिखेलका अध्यक्ष पूर्णकुमार कार्की, ब्यवस्थापक पुण्यवती घले लगायतले बालिकाहरुको उज्ज्वल भविश्यका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए । ईलाईब्रेरीका लागि हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले सहयोग उपलब्ध गराएको छ । ईलाईबे्रेरीमा ८ वटा कम्प्युटर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्