आलम पक्राउको कांग्रेस कार्यकर्ताद्धारा विरोध प्रदर्शन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेपछि कांग्रेस कार्यकर्ता तथा समर्थकले गौरबजारमा प्रदर्शन गरेका छन्।

आलम पक्राउको विरोधमा वीरेन्द्र राजमार्गका विभिन्न स्थानमा टायर बालिएको छ। प्रदर्शनकारीले केही स्थानमा ढुगांमुडासमेत गरेका छन् ।

आलम समर्थकबाट नाराजुलुस र प्रदर्शन भैरहेको छ। भीड नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ। विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । अहिलो सो स्थानमा बाक्लो रुपमा सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ ।

२०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि लागेको छ । उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो । बम बनाउने काममा केही नेपाली पनि सहभागी थिए।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए। अफताव आलम पटक–पटक मन्त्री भए, तर विकास कहिल्यै नगरेको भन्दै मुस्लिम बाहुल्य क्षेत्रका जनताको चर्को आरोप छ ।

अफताव आलम शेख इसरिदका भान्जा हुन् । उनकै बलमा उनले राजनीति यात्रा शुरु गरेका थिए । राजनीतिमा अगाडि बढाउनका लागि इसरिदको राम्रो सहयोग थियो । इसरिद पनि काँग्रेसमा मन्त्री भइसकेका व्यक्ति थिए र उनले रौतहटमा राम्रो प्रभाव जमाएका थिए । पछि त्यसको बिडो अफताव आलमले सम्हालेका थिए ।

अहिले उनलाई सांसद सुविधाबाट बन्चित गरिएको छ । यदी आरोप पुष्टि भएको खण्डमा उनलाई पदमुक्त गरिनेछ ।

यो पनि पढ्नुहोस्

कांग्रेस नेता आलमको सेवा सुविधा रोक्का, दोषी ठहर भए निलम्बन

 

प्रतिक्रिया दिनुहोस्