सुनिनै छाड्यो चचहुइइइ… !



हेटौंडा, (नेस) ।

मकवानपुरमा परम्परागत् लिंगेपिङ हराउँदै गएको छ । हेटौंडा–१८, हर्नामाडीमा कयौं स्थानमा देखिने पिङ यसपालि दशैंमा करिब शून्य रहे । परम्परा र सँस्कृति जगेर्ना गर्ने उद्धेश्यले केही ठाउँमा भने बाँसको साधारण लिंगेपिङ राखिए पनि पहिलेको तुलनामा धेरै कम देखियो ।

दशैंमा विशेषतः ग्रामीण क्षेत्रमा पिङ मच्चाएर ‘चचहुइइइइइइ….’ घन्किने गर्दथ्यो । बालबालिकादेखि बृद्धहरु समूहमा पिङमा मच्चिने चलन हराउँदै गएको छ । दशैंको समयमा एकपटक भए पनि भुईं छोड्नुपर्ने मान्यताअनुसार पिङ खेल्ने चलन रहेको विश्वास गरिन्छ । ‘पिङ मनोरञ्जनका हिसाबले खेलिने भए पनि यो हाम्रो मौलिकता तथा सँस्कृतिसँग जोडिएको छ,’ हेटौंडाका नवराज ढकालले भन्नुभयो ।

शहरी क्षेत्रमा मात्र नभएर पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत पिङ हराउँदै गएको छ । मानिसहरुको व्यस्त जीवनशैली अनि दशैं मनाउने नयाँ तरिकाले मौलिक लिंगेपिङ बिस्थापन हुन थालेको हेटौंडाका केदार बिष्टको गुनासो छ । यसको संरक्षणका लागि स्थानीय सरकारलगायत स्थानीय संघसंस्था पनि लाग्न जरुरी रहेको बिष्टको भनाइ छ ।

दशैं शुरु हुनुअघि नै गाउँमा पिङ खेल्न बाबियोको घाँस काट्न जानेको लर्को देखिन्थ्यो । भिरमा पाइने बाबियो गाउँका केटाकेटी मिलेर ल्याउँथे । अनि, बाबियोलाई बुबा/हजुरबुबाहरुले बाटिदिन्थे ।

बाँसको लिंगासमेत काटी नौरथाका दिनमा चौरमा पिङ हालिन्थ्यो । चौरमा गाउँका बालबालिकाको विहानदेखि बेलुकासम्म घुर्इंचो हुन्थ्यो । दशैंको पूर्णिमासम्म खेलिने पिङलाई फेरि बाँधेर बाँसको लिंगामा राखी तिहारमा झिक्ने भन्दै गाँठो पारिन्थ्यो । अनि, पिङ कहिले फुकाउने हो भन्नेमा बालबालिका प्रतीक्षारत् हुन्थे ।

तर, हाल यो सबै कथाजस्तो बन्न पुगेको छ । पछिल्लो समयका पुस्तामा दशैं भन्ने बित्तिकै मीठो खाने, राम्रो लगाउने, अनि लामो बिदा पाइने भएकोले घुम्न जाने पर्व बनेको देखिइसकेको छ । दशैंको धार्मिक तथा साँस्कृतिक महत्व भने वर्तमान पुस्तामाझ लोप हुन थालेको छ ।

गाउँबस्तीका टोलटोलमा अग्ला रुखमा खरबाट निर्मित पिङ राख्ने चलनलाई आधुनिकताको विकास हुनु, त्यस्ता पिङ बनाउने पाका व्यक्तिको अभावमा परम्परा र सँस्कृति हराउँदै गएको हेटौंडाका सँस्कृतिविद् रामचन्द्र आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्