वडा कार्यालयमा पेट्रोल छर्किएर आगजनी, संलग्न ५ जनालाई प्रहरीले समात्यो



न्युज अफ नेपाल, हेटौंडा ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका–५ वडा कार्यालयमा आगवजनी भएको छ । आगजनीमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।

सोमबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम सार्वजानिक गरेको छैन ।

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आगलागीको क्रममा विद्युत मिटर बक्स पड्केको आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्