कांग्रेस नेता आलमको सेवा सुविधा रोक्का, दोषी ठहर भए निलम्बन



न्युज अफ नेपाल, काठमाडौं ।

१४ व्यक्तिको हत्या आरोपमा पक्राउ परेसँगै रौतहट–२ का नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमले सांसदको पद गुमाएका छन् ।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।

उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।
त्यस्तै उनको तलब, सुविधा रोकिएको छ। प्रहरीले आलम पक्राउ परेको जानकारी संघीय संसद सचिवालयलाई उपलब्ध गराइसकेको छ।

प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख छ। नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ।

आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन्। साथै, अदालतले दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्