म्याराथनमा किप्चोगेले रचे कीर्तिमान



लन्डन, (एजेन्सी)।चर्चित केन्याली म्याराथन धावक एलिउड किप्चोगेले नयाँ विश्व कीर्तिमान रचेका छन्।शनिबार अस्ट्रेयाको राजधानी भिएनामा आयोजित विशेष म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दूरी १ घन्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै उनले विश्व कीर्तिमान कायम गरेका हुन्।

योसँगै उनी २ घन्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावकसमेत बनेका छन्।किप्चोगेले म्याराथनको दूरी २ घन्टाभन्दा कम समयमा पूरा गर्ने लक्ष्यसहित नै दौड तय गरेकोमा उनी सफल पनि भएका हुन्।

रियो ओलम्पिकका स्वर्ण पदक विजेतासमेत रहेका किप्चोगेकै नाममा यसअघि पनि विश्व कीर्तिमान रहेको थियो। उनले सन् २०१८ को बर्लिन म्याराथनमा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान कायम गरेका थिए।

यसअघि सन् २०१७ मा पनि किप्चोगेले यस्तै किसिमको प्रयास गरेका थिए। तर, उनले त्यस समय निर्धारित दूरी २५ सेकेन्ड ढिलोमा पूरा गरेपछि कीर्तिमान बन्न सकेको थिएन।

यसपटक लक्ष्यमा अझ केन्द्रित उनले मानसिकरूपमा पनि बलियो भएकाले सफलता मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्