आलु महोत्सव हुने



नेपाल समाचारपत्र, दोलखा।जिल्लाको मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ। बार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन हँुदै आएको मेलुङ गाउँपालिकामा आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले मेलुङ आलु महोत्सव २०७६ को आयोजना गर्न लागिएको गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले बताउनुभयो।

समुन्द्री सतहबाट ७३० मिटरको उचाई रहेको मेलुङ गाउँपालिकाको भुमेस्थान, काडँे, बाटुले, फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली, दुधिले, भङ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिकमात्रामा बर्षे आलु उत्पादन हुने र त्यसको व्यवस्थापन तथा बजारीकरणको लागि आलु महोत्सव महत्वपूर्ण बन्ने गाउँपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ।

त्यसैगरी पवटी, सुकाठोकर, धनुके, थामीडाँडा, ज्यामिरे, गर्भे, सितली, सिम्रास र निकासीमा हिउँदे मौसमी आलु उत्पादन हुने गाउँपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ।

दुई दिनसम्म सञ्चालन हुने आलु महोत्सवले मेलुङ गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने, प्राङ्गारिक आलु उत्पादनमा टेवा पुग्ने, आलु उत्पादन हुने स्थानमा परम्परागत तथा आधुनिक भण्डारन निर्माणमा सहयोग पुग्ने, सामूहिक खेती प्रणालीको सुरुवात हुने, व्यावसायिक पशुपालन कार्यक्रम प्रवद्र्धन हुने, आलुको ग्रेडिङ, लेभलिङ र प्याकेजिङमा सहयोग पुग्ने, निजी, सरकारी र सहकारीको सहयोगमा गाउँपालिका बाहिर समेत बिक्री केन्द्र स्थापना हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

कार्तिक १ र २ गते सञ्चालन हुने आलु महोत्सव २०७६ को अवसरमा विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, आलुको विभिन्न परिकारहरूको स्टल, मौसमी तथा बेमौसमी तरकारीको स्टल र मेलुङ गाउँपालिकाको बिभिन्न ठाउँका तस्वीरको प्रदर्शन गरिने मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्