तमोर जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी



नेपाल समाचारपत्र, काठमाडौं। दुई जलाशययुक्त आयोजना निर्माणका लागि नेपाल र चीनबीच सहमति भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच दुई जलाशययुक्त आयोजना नेपाल र चीनले संयुक्त रूपमा निर्माण गर्न सहमति भएको हो।

सहमतिअनुसार सरकारी स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनी ( एचआइडीसीएल) र चीनको पावर चाइनाले कुल ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र कुल १ सय ५७ मेगावाट क्षमताको माडी खोला जलाशययुक्त आयोजना संयुक्त रुपमा निर्माण गर्ने सहमति भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार यी दुई आयोजनाको कुल लागत २ खर्ब रुपियाँभन्दा बढी रहने छ।नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको हो।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेस गरिएको प्रस्तावमा एचआइडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए। मन्त्रालय स्रोतका अनुसार आगामी एक वर्षभित्र आयोजनाको निर्माणसम्बन्धी सबै तयारी गर्ने सहमति भएको छ।

अन्त्यातै आकर्षक परियोजना मानिएको तमोर जलाशययुक्त आयोजना बूढीगण्डकी जलविद्युत् आयोजनाभन्दा करिब आधा सस्तो मानिएको छ। यो आयोजना नेपाल विद्युत प्राधिकरणले बनाउनुपर्ने विषयमा लबिङ हुँदै आएकोमा चिनियाँ कम्पनीलाई भित्र्याइएको छ। माडी जलाशययुक्त आयोजना प्रदेश नं ५ को रोल्पामा अवस्थित छ।

२६ प्रतिशत लगानी जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको र ७४ प्रतिशत लगानी पावर चाइनाको हुने बताइएको छ।त्यस्तै नेपाल र चीनबीच व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बनाउने समेत सहमति भएको छ।

सहमतिअनुसार, यस संयन्त्रमा दुवैतर्फबाट वाणिज्य सचिव संयोजक रहनेछन्।आइतबार राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग स्थायी संयन्त्र बनाउन सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जानकारी दिनुभयो।

अहिलेसम्म दुई देशबीच व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र छैन। दुई देशबीच संयन्त्र नहुँदा वस्तु तथा सेवा व्यापार आयात/निर्यातमा कठिनाई हुँदा समाधानका लागि पहल गर्न सकिएको छैन।

सहमतिलाई छिट्टै कार्यान्वयनमा ल्याउने र त्यस वस्तु तथा सेवाको आयात/निर्यात हुने मन्त्री यादवको विश्वास रहेको छ। यससंगै नेपालको पूर्वाधार विकासका लागि चीन सकारात्मक देखिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपालको पूर्वाधार विकासमा विभिन्न सहमति तथा सम्झौता भएका छन्।

बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणका लागि नेपाल र चीनबीच सहमति भएको छ। यससँगै चीनसँग टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेंसी सुरुङमार्ग, अरनिको सडक स्तरोन्नत्री लगायतका विषयमा सहमति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्