दशैंमा खसीबोका पुगेन, च्याङ्ग्रा बिकेन



OLYMPUS DIGITAL CAMERA

परिर्वतन देवकोटा, काठमाडौं। यसपटकको दशैंमा खसीबोका कम आउँदा बजारमा खसीबोका खोसाखोस भएको छ। भारतबाट खसीबोकाको आयात नभएका कारण दशैंमा खसीबोका खोसाखोस भएको हो। यस वर्ष खाद्य संस्थानले एक हजार खसीबोका बिक्री गर्न काठमाडौं ल्याएको थियो।

सुपथ मूल्यमा खसीबोका बिक्री वितरण गर्ने व्यवस्था खाद्य संस्थानले गरेको थियो। ‘उपभोक्तालाई सहुलियत दरमा खसीबोका उपलब्ध गराउन हामीले घाटा नै खाएर भए पनि बजार मूल्यभन्दा हाम्रो मूल्य कम गर्यौं,’ खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले मूल्य कम गरेकै कारण खसीबोका छिटो खपत भएको समेत बताउनुभयो।

मूल्य घटाउँदा व्यवसायीबाट धम्की


बजार मूल्यभन्दा कममा खसीबोका बिक्री वितरण गर्दा खसीबोका व्यवसायीबाट धम्की आएको खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताउनुभयो।

खसीबोकाको भाउ घटाएपछि कतिपय व्यवसायीले यसको खरिदबिक्री नै गरेनन्, उहाँले भन्नुभयो– ‘भाउ घटाएका कारण कति व्यवसायी रिसाए भने कतिले आफूहरूलाई घाटा भएको भन्दै असन्तुष्टि व्यक्त गरे।’

गत वर्षको तुलनामा यसपटकको दशैंमा खसीबोकाको खपत कम भएको महाप्रवन्धक गौचनको भनाइ छ। खाद्य संस्थानले विभिन्न ठाउँबाट एक हजार खसीबोका काठमाडौं ल्याएको थियो।

बिक्री शुरू भएको केही दिनमै खसीबोका सकिसकेको थियो। बजार मूल्यभन्दा खाद्य संस्थानले निर्धारण गरेको मूल्य कम भएसँगै खाद्य संस्थानमा खसीबोकाको खोसाखोस भएको थियो।

यस वर्ष खाद्य संस्थानले जिउँदो खसीबोकाको मूल्य ५ सय ५० रुपियाँ निर्धारण गरेको थियो। यद्यपि, बजार मूल्य भने ६ सय ५० रुपियाँधन्दा माथिको थियो।

खसीबोकाको माग धान्न धौं–धौं

बजार मूल्यभन्दा कम मूल्यमा खसीबोका बिक्री गरेपछि खाद्य संस्थानबाट उपभोक्ताले खसीबोका धमाधम किन्न थाले। दशैंको टीकाको दिन अगावै एक हजार संख्याका खसीबोका सकिएपछि खाद्य संस्थानले थप एक सय खसीबोका विभिन्न ठाउँबाट ल्याएर बिक्री वितरण गरेको संस्थानका महाप्रबन्धक गौचनले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘हामीलाई माग धान्न धौ–धौ भएपछि अन्ततः खसीबोका थप्यौं।’

खसीबोकाको खपत कम

गत वर्षको तुलनामा यस वर्षको दशैंमा खसीबोकाको खपत कम भएको छ। अहिले खपत भएको परिणाम ठ्याक्कै यकिन नभएको भन्दै उहाँले भारतबाट आयात हुने खसीबोकाको स्वास्थ्य परीक्षणमा कडाई गरेसँगै खसीको खपत कम भएको बताउनुभयो।

‘क्वारेन्टाइनमा कडाईपछि भारतबाट खसीबोका आयात हुनै छाडे, त्यसैकारण पनि खपत कम भयो,’ उहाँले भन्नुभयो। दशैंका समयमा भने भारतसँग मन्त्रालयले विभिन्न छलफल गरी केही परिमाणमा खसीबोका ल्याइएको बताउनुभयो।दशैंको बेला खसीबोकाको अभाव कम गर्न आफूहरू हरसम्भव लागेको र त्यसमा सफल भएको पनि गौचनको भनाइ छ।

च्याङ्ग्रा बिक्न गाह्रो 

दशैंमा बिक्री गर्न खाद्य संस्थानले मुस्ताङलगायतका स्थानबाट २ हजार च्याङ्ग्रा काठमाडौं ल्याएको थियो। गत वर्षको दशैंमा राम्रै बिक्री बितरण भएको च्याङ्ग्रा यसपटक भने त्यस्तो देखिएन। खाद्य संस्थानले जिउँदो च्याङ्ग्राको मूल्य ७ सय ५० रुपियाँ प्रतिकिलो निर्धारण गरेको थियो।

यस वर्ष खसीबोकाको माग धान्न धौं–धँैं भएको खाद्य संस्थानलाई च्याङ्ग्रा बिकाउन गाह्रो भयो। महाप्रबन्धक गौचनका अनुसार मूल्य घटाएर च्याङ्ग्राको बिक्री वितरण भइरहेको छ।

दशैंमा ७ सय ५० रुपियाँ प्रतिकिलो निर्धारण गरिएको जिउँदो च्यांग्रा अहिले बिक्री नभएपछि ७ सय रुपियाँ प्रतिकिलोमा बिक्रीवितरण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्