जैविक मल र पशु आहार उत्पादन कार्यक्रम



पाल्पा, (नेस)।गाउँ–गाउँमा अर्गानिक उत्पादन बढाउने, सामुदायिक वनमा खेर गएको वस्तु प्रयोगमा ल्याउने, उद्देश्यका साथ नयाँ किसिमको कार्यक्रम जिल्लाको एक गाउँपालिकाद्वारा ल्याइएको छ।व्यावसायिक पशुपालक किसानको लागि प्रशस्त मात्रामा घाँसको व्यवस्थापनका लागि जिल्लाको रम्भा गाउँपालिकाले किसान केन्द्रित कार्यक्रम ल्याएको हो।

साना किसान सहकारी संस्थासँगको समन्वयमा गाउँपालिकाले जैविक मल र पशुआहार उत्पादन कार्यक्रम ल्याएको हो। गउँमा रासायनिक मलको बदलामा जैविक मलको प्रयोग बढाउन र पशुपालन व्यवसायलाई सजिलो र सहज बनाउँदै व्यावसायिक पशुपालनलाई माथि उठाउन गाउँपालिकाले किसान केन्द्रित कार्यक्रम शुरु गरेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको ७५ प्रतिशत लगानी र सहकारी संस्थाको २५ प्रशितत लगानीमा कार्यक्रम शुरु भएको हो। जैविक मल र पशुआहार उत्पादनको लागि सहकारीमा आवद्ध ६ सय किसान सामुदायिक वनमा परिचालन भएका छन्।

वर्षायाममा जैविकमल तथा पशुआहारको लागि प्रशस्त कच्चा सामग्री उत्पादन हुने र पछि सुकेर नोक्सान हुने भएकाले समयमै किसानलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो।

किसानलाई सैद्धान्तिक जानकारीसंँगै व्यवहारिक अभ्यास गराउन सामुदायिक वनमा तितेपाती, वनमारा, असुरो, झारपात जैविक मलको लागि र पशुआहारको लागि जंगलमा उत्पादन भएको वर्षे घाँस संकलनको लागि परिचालन गरिएको सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पाठकले बताउनुभयो।

जैविकमल तथा विषादी निर्माण गर्दा गाउँ–गाउँमा अर्गानिक उत्पादन बढाउने, सामुदायिक वनमा खेर गएको वस्तु प्रयोगमा ल्याउने, व्यावसायिक पशुपालक किसानको लागि प्रशस्त मात्रामा घाँसको व्यवस्थापनका लागि अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

गाउँपालिकामा १० वटा व्यावसायिक पशुपालक फर्म रहेको र आगामी दिनमा अझ बढाउँदै जाने गाउँपालिको योजना रहेको उहाँले बताउनुभयो। सहकारीमार्फत परिचालन भएका किसानलाई जैविकमल विषादी बनाउने तरिका, आवश्यक सरसमान, खेर गएको वर्षे घाँसको व्यवस्थापन तथा प्रशोधनलगायतका विषयमा किसानलाई सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको सहकारीका अध्यक्ष पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्